×

कर्णालीमा यसरी मनाइँदै ‘देउडा तथा साउने सक्रान्ति पर्व’

images


‘देउडा तथा साउने सङ्क्रान्ति पर्व’ आज कर्णालीमा धुमधामका साथ मनाइँदै छ । आजको दिन तीनै तहका सरकारको चालु आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लैजाने प्रारम्भको दिन पनि हो ।

सरकारी तथा सांस्कृतिक दुवै हिसाबले आजको दिन निकै महत्वपूर्ण मानिन्छ । कर्णाली प्रदेश सरकारले ‘देउडा तथा साउने सङ्क्रान्ति पर्व’ को दिनलाई विशेष महत्व दिएर आज कर्णालीका प्रदेशभर सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले विसं २०७८ चैत २९ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार प्रदेशभर सार्वजनिक बिदा दिइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आज प्रदेशस्थित सबै सरकारी र तथा सार्वजनिक सङ्घसंस्थामा सार्वजनिक बिदा हुनेछ । यस पर्वको अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जुम्ली एकता सेवा समाज सुर्खेतले देउडाको आयोजना गरेको छ । जुम्ला खलङ्गालगायत माथिल्लो कर्णालीका सबै जिल्लामा देउडा खेलेर मनाइँदै छ ।

कर्णालीको हुम्ला, मुगु, कालिकोट, डोल्पा, दैलेखमा पनि कतै पुरुष–पुरुष त कतै महिला–पुरुष दुईतर्फ गोलो आकारमा डौडा लगाएर गीत गाउँदै शारीरिकरूपमा विभिन्न हाउभाउ देखाएर देउडा खेलिन्छ । स्वतःस्फूर्तरूपमा खेलिने देउडा खेलका लागि समय निर्धारण तथा रोकछेक गर्नुपर्ने त्यस्तो कुनै बाध्यकारी नियम हुँदैन । 

देउडा जुम्लाको सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा पनि ऐतिहासिक स्वरुपमा आज सञ्चालन गर्न थालिएको कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । सिञ्जा गाउँपालिका अध्यक्षसमेत रहनुभएका अध्यक्ष धितालले भन्नुभयो, “देउडा एउटा साहित्य हो । मानिसको जनजीवनमा भएका घटना तथा समाजमा रहेको सबै वस्तुस्थितिलाई गीतका माध्यमबाट प्रस्तुत गर्ने यो एउटा विधा हो ।”

सङ्गीत र नृत्य दुवैको प्रतिनिधित्व देउडाले गर्ने भन्दै उहाँले यसले समाजको वास्तविकता बोल्ने र इतिहासको जगेर्ना गर्ने बताउनुभयो । अध्यक्ष धितालका अनुसार देउडाले गीत र मनोरञ्जनका माध्यमले विगत सम्झाउँछ, वर्तमानमा आनन्द दिन्छ र भविष्यको दृष्टिगत गराउँछ । 

कर्णाली देउडा समाज जुम्लाका सचिव कर्ण बुढ्थापाले सुख–दुःख, हाँसो–आँसु, खुसी–पीडा गीत देउडा गीतका माध्यमबाट व्यक्त गरिने भएकाले कर्णालीमा यो लोकप्रिय हुँदै गएको बताउनुभयो । हरेक शुभ अवसरमा खेलिने देउडाले मानव जीवनका सबै पक्षहरूलाई गीत र तार्किक अभिव्यक्तिका माध्यमबाट व्यक्त गर्दछ”, सचिव बुढ्थापाले भन्नुभयो, “यो मानव जीवनको दर्पण हो ।”

त्यसैगरी आज खीर, पनिर, तरकारी, अचारलगायतका मीठा–मीठा परिकार खाएर साउने सङ्क्रान्ति मनाइने उहाँले बताउनुभयो । उहाँका अनुसार समाज तथा व्यक्तिमा भएका सबैखाले लुतो–पुतो, रिस–राग, रोग–भोग, विकृति–विसङ्गति सकिएर जाओस् भन्दै आज साँझ राँको बाल्ने र अन्तमा जलेर सकिन लागेको राँकोसँगै विकृति र समस्याको कुटिरो ९पोका० फालेर साउने सङ्क्रान्ति मनाइँदै छ ।

जुम्ली एकता सेवा समाज सुर्खेतका अध्यक्ष अमृत पाण्डेले राजधानी सुर्खेतमा दिनभर देउडा खेल्ने र आज बेलुका राँको बालेर लुतो फालेर साउने सङ्क्रान्तिको समापन गरिने जनाउनुभयो । साउने सङ्क्रान्ति पर्व देशभर मनाइरहँदा परम्परागतरूपमा मध्य तथा सुदूरपश्चिम खेलिने देउडा भने मध्यपश्चिम नेपालको कर्णाली प्रदेशले विगत तीन वर्षदेखि आजको दिनलाई देउडा पर्वका रूपमा मनाउँदै आएको छ ।

आइतबार​ १ साउन २०७९ ११:५१ AM मा प्रकाशित

प्रतिक्रिया