×

बन्चरे लयान्डफिल साइटमा फोहोरमैलामा शुल्क विवाद

images

काठमाडौं, असार ३१ । ककनी गाउँपालिकाले भोलिबाट बन्चरे लयान्डफिल साइटमा फोहोर विसर्जन गरेवापत प्रति सवारीसाधन १ हजार ५ सयसम्म रुपियाँ लिने निर्णय गरेपछि त्यसको विरोधमा टोखा नगरपालिका र फोहोरमैला व्यवस्थापन संघले आज सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ । टोखा र संघको शनिवार छुट्टाछुट्टै बसेको बैठकले ककनी गाउँपालिकाविरुद्ध मुद्दा दायर गर्ने जनाएको हो ।

फोहोरमैला व्यवस्थापन ऐन–२०६८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत ककनी गाउँपालिकाले शुल्क उठाउने निर्णय गरेकोले उक्त निर्णयविरुद्ध रिट दायर गर्न लागिएको हो । संघका तर्फबट अधिवक्ता पदमबहादुर श्रेष्ठले रिट दायर गर्न लागेका छन् भने टोखा नगरपालिकाको तर्फबाट नगरपालिका आफैंले रिट दायर गर्न लागेको छ ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले स्थानीय तह ऐन, फोहोर मैला व्यवस्थापन ऐन र आर्थिक ऐन, फोहोरमैला व्यवस्थापन नियमावली अध्ययन गर्दा ककनी गाउँपालिकाले गरेको निर्णय न्यायोचित नभएको कारण रिट दायर गर्न लागेको बताए।

उपत्यका मेयर्स फोरमका सचिवसमेत रहेका मेयर अधिकारीले फोहोरमैलाको विकराल समस्या आउन नदिन रिट दायर गर्न लागेको जिकिर गर्दै भने– ‘कानुनी उपचारमा जानुपर्ने बाध्य भएकोले शनिवार बसेको बैठकले रिटमा जानुपर्ने विषयमा निर्णय गरेको हो ।’

मेयरको भनाइलाई पुष्टि गर्दै सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले रिट दायर गर्ने तयारी गरेको बताए। संविधानको मर्मविपरीत स्थानीय तह सञ्चालन र फोहोर मैला व्यवस्थापन ऐनको विपरीत ककनी नगरपालिकाले गरेको निर्णयविरुद्ध रिट दायर गर्ने तयारी गरेको जानकारी दिँदै उनले भने– ‘मानौं धुलिखेल नगरपालिकाले फोहोर विसर्जन गर्दा भक्तपुर, मध्यपुर, काठमाडौं हुँदै बन्चरेडाँडा ल्यान्डफिल साइट पुग्ने गरेको छ । ककनीले गरेजस्तै भक्तपुर, मध्यपुर र काठमाडौंले फोहोर बोक्ने गाडीसँग कर उठाउँछु भन्यो भने के गर्ने? कर तिर्दै फोहोर बोक्ने कि संघीय सरकारले गरेको निर्णयअनुसार सोही स्थानीय तहले मात्र कर उठाउने?’

संघीय सरकारको निर्णयविपरीत ककनीले शुल्क असुल्न खोजेपछि रिट दायर गर्न लागेको उनको भनाइ थियो । नेपाल समाचारपत्र दैनिकबाट

सोमबार १ साउन २०८० ०७:०६ AM मा प्रकाशित

प्रतिक्रिया