×

अध्यक्षमाथि हातपात गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा

images

जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपाध्यक्ष भण्डारी पालिकादेखि जिल्ला प्रहरी कार्यालयमा आफैँ पुग्नुभएको थियो ।

उपाध्यक्ष भण्डारीमाथि अध्यक्षको कार्यकक्षमा प्रवेश गरेर हातपात गरेको आरोप छ । गाउँपालिका प्रवक्ता अर्जुन महताराका अनुसार उपाध्यक्ष भण्डारीले अध्यक्ष बुढालाई थप्पड र चप्पल प्रहार गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएको गाउँपालिका प्रवक्ता महताराले जानकारी दिनुभयो । कार्यालय समय सकिएकाले आइतबार जाहेरी दर्ता हुन सकेको थिएन ।

सोमबार बिदा परेकाले मङ्गलबार कार्यालय खुल्ने वित्तिकै जाहेरी दर्ता हुने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताउनुभयो । अध्यक्ष बुढाले बजेट निर्माणदेखि पालिकामा भइरहेका काम कारबाही चित्त नबुझे छलफलका माध्यमबाट समाधान गर्न सकिने पर्याप्त सम्भावना हुँदाहुँदै उपाध्यक्ष भण्डारीले आफूमाथि हातपात गरेको बताउनुभयो ।

उपाध्यक्ष भण्डारीले भने अध्यक्ष बुढाले मनपरी बजेट विनियोजन गरेको र आफ्नो अधिकार खोसेको बताउनुभयो । कार्यपालिकाको बैठकले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ ।

गाउँपालिकाको बजेट पनि आइतबार नै अनुमोदन भइसकेको छ । घटनाबारे उपाध्यक्ष भण्डारीसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।

सोमबार १ साउन २०८० ०९:४० PM मा प्रकाशित

प्रतिक्रिया