×

उपराष्ट्रपतिका लागि मतदान सम्पन्न- मत गणना सुरु 

images

काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा भएको मतदानमा ३ सय ११ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

 बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ सम्पन्न भएको हो मतदानका लागि सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तोकिएको थियो । मतदान सकिए लगत्तै मत गणना कार्य सुरु भएको छ । 

मतदानमा को–को भए अनुपस्थित ?

निर्वाचनमा सङ्घीय संसद्का ३ सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता मध्ये संघिय संसद्का ३ सय ११ सङ्घीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका छन् । सङ्घ (राष्ट्रियसभा र प्रतिनिधिसभा) तर्फका जम्मा ३ सय ३४ सांसदमध्ये रवि लामिछानेको पद रिक्त भएको र टेकबहादुर गुरुङ निलम्बनमा गरेकाले दुईपद रिक्त छ । 

आजको मतदानमा सङ्घतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदुर किसान पार्टीका एक जना सांसद तटस्थ बसेको निर्वाचन कार्यालयले जनाएको छ । 
यसैगरी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको तथा सांसदहरु चन्द्र भण्डारी, वर्षमान पुन र मनोरमा शेरचन बिरामी भएकाले उपस्थित नभएको कार्यालयको भनाई छ । 

साथै सहनाज रहमानको निधन भएको थियो भने लक्ष्मी महतो कोइरीको मुद्दाका कारण  मतदानमा अनुपस्थित भए ।  प्रदेशसभा सदस्यतर्फ राप्रपाका २८ र नेमकिपाका तीन सदस्य मतदान नगरी तटस्थ बसेका छन् । जसपाका एक सदस्य समेत अनुपस्थित भएको निर्वाचन आयोगले जनाएको छ । 

उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा एमालेका अष्टलक्ष्मी शाक्य बोहरा र जनमत पार्टीका ममता झा उम्मेदवार छन् । 
निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन् । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम छ ।
 

शुक्रबार​ ३ चैत २०७९ ०४:२० PM मा प्रकाशित

प्रतिक्रिया