×

च्याउबाट आम्दानी लिँदै

images

दाङ :  घोराही उपमहानगरपालिका १८ का ऋषिराम चौधरीका लागि १६ वर्षअघि २५ सय रुपैयाँ सुरु गरेको च्याउखेती अहिले राम्रो आम्दानीको स्रोत बनेको छ ।

च्याउ खेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि चौधरीले लगानी समेत बढाउँदै लैजानु भएको छ । सामुदायिक वनका क्षेत्रमा काम गर्दैगर्दा च्याउखेती गर्न थाल्नुभएका चौधरी २०७२ सालदेखि अम्बिकेश्वरी च्याउ उद्योग दर्ता गरेर व्यावसायिक रुपमा च्याउखेतीमा लाग्नुभएको हो । 

करिब २५ सय रुपैयाँबाट सुरु भएको व्यवसाय अहिले करिब १५ लाख रुपैयाँ बराबरको भएको उहाँले बताउनुभयो । ‘२०६२ सालमा २५ सय रुपैयाँबाट च्याउखेती सुरु गरेको थिएँ । अहिले १६ वर्ष भयो । म निरन्तररुपमा च्याउ उत्पादन गर्दै आएको छु’, उहाँले भन्नुभयो ‘यो अवधिमा २५ सयबाट सुरु भएको व्यवसाय करिब १५र१६ लाख बराबरको भएको छ ।’

करिब दश वर्षअघि च्याउको बजार कम भए पनि पछिल्लो समय च्याउखेतीमा लाग्ने व्यवसायीहरु समेत थपिँदै गएका छन् । दैनिक करिब २५ केजी बराबरको च्याउ उत्पादन गर्दै आउनु भएको चौधरीले उत्पादन भएको च्याउ जिल्लाभित्रै खपत हुने गरेको बताउनु भयो । यसअघि रोल्पा, प्युठान, बुटवललगायतका ठाउँहरुमा जाने गरेको भए पनि अहिले जिल्लामै खपत हुने गरेको छ । सुगर, प्रेसरलगायतका बिरामी र मासु नखानेहरुले समेत च्याउ खान मिल्ने भएका कारण पछिल्लो समय जिल्लामा च्याउको माग बढ्दै गएको  छ । 

‘पहिले धेरैलाई च्याउ खान हुँदैन भन्ने थियो । तर अहिले त्यो अवस्था हटेको छ’, उहाँले भन्नुभयो– ‘अहिले च्याउ खानुपर्छ भन्ने चेतनाको विकास  भएको छ । जसले गर्दा जति उत्पादन गरे पनि जिल्लाभित्रै खपत हुन्छ।’

च्याउखेतीका लागि दुई वटा टनेल निर्माण गरेका चौधरीले अर्गानिक च्याउ उत्पादन गर्ने गरेको बताउनुभयो। केही व्यक्तिहरुले च्याउ बढी फलाउने र चाँडै उत्पादन लिने आशामा औषधि प्रयोग गर्ने गरे पनि आफूले त्यस्तो नगर्ने गरेको उहाँले भन्नुभयो ।

च्याउबाट राम्रो आम्दानी लिन सकिने भए पनि जिल्लामा गुणस्तरीय बीउ नपाउँदा व्यवसायीहरु समस्यामा परेका उहाँले बताउनु भयो। चौधरीले आफ्नो फर्मका लागि काठमाण्डौको कालीमाटीबाट च्याउको बीउ ल्याउने गर्नुभएको छ । 

च्याउ नबिके सुकुटी

उहाँले च्याउ नबिके सुकुटी बनाएर बिक्री गर्ने गरेको बताउनुभयो । उहाँले च्याउलाई सुकुटी बनाएर बिक्री गर्नका लागि मेसिन समेत ल्याउनु भएको छ । चौधरीले मेसिन प्रधानमन्त्री आधुनिकीकरण पकेट कार्यक्रममार्फत ल्याउनु भएको हो । 

सुकुटी बनाएको च्याउ प्रतिकेजी २ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ । ‘च्याउ नबिक्ने  समस्या छैन । तर कहिलेकाहीँ बिकेन भने सुकुटी बनाउने गरेको छु’, चौधरीले भन्नुभयो– ‘च्याउ १ सय ६० देखि १ सय ७० रुपैयाँसम्म प्रतिकेजी बिक्री हुने गरेको छ भने सुकुटी च्याउ प्रतिकेजी २ हजार रुपैयाँसम्म बिक्री हुने गर्दछ।’

वर्षमा तीन लटसम्म च्याउ उत्पादन हुने गर्छ । उत्पादन भएको च्याउ बजारमा बिक्री गर्ने र नबिकेको च्याउलाई सुकुटी बनाउँदा च्याउ खेर जान नपाएको उहाँले बताउनुभयो। उहाँका अनुसार च्याउबाट भदौ महिनादेखि फागुनसम्म राम्रो आम्दानी लिन सकिन्छ ।

वन कार्यालय लगायतका सङ्घसंस्थामा काम गर्दा रहरमा सुरु गरेको व्यवसाय अहिले आम्दानीको प्रमुख स्रोत बन्न पुगेको छ । व्यवसायका लागि प्रधानमन्त्री आधुनिकीकरण पकेट कार्यक्रममार्फत कृषि ज्ञान केन्द्रबाट १ लाख ५० हजार र यसवर्ष कोभिड प्रभावित किसानका रुपमा राज्यबाट केही सहयोग पाएको उहाँले बताउनुभयो । 

बिहीबार ५ फागुन २०७८ ०२:३० PM मा प्रकाशित

प्रतिक्रिया