×

प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्ति नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट- नेकपा एमाले

images

काठमाडौँ — सत्तारुढ दल नेकपा एमालेले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल' प्रचण्डले भारतीय अखबार 'द हिन्दु' सँगको अन्तर्वार्तामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति गरेको टिप्पणीको भर्त्सना गरेको छ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष दाहालले 'द हिन्दु'मा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री  ओलीले ‘चाइना कार्ड प्रयोग गरेको’ बताएका थिए । अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले मंसिर १७देखि गर्न लागेको पाँच दिने चीन भ्रमणको निर्णयलाई अपरिपक्व भनेका थिए । 

नेकपा एमाले परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले शनिवार विज्ञप्ति जारी गर्दै प्रचण्डले हिन्दुसँगको अन्तर्वार्तामा गरेको टिप्पणीको घोर भर्त्सना गर्दै टिप्पणी फिर्ता गर्न र जनतासँग माफी माग्न भनेका हुन् । महासेठले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री  ओलीले ‘चाइना कार्ड’ प्रयोग गरी चीन भ्रमणको निर्णय गरेर अपरिपक्वता देखाएको भनेर लेबल लगाउनु निराधार, गैरजिम्मेवारपूर्ण भएको बताएका छन् । साथै उनले प्रचण्डको टिप्पणी नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट पुर्‍याउने कार्य रहेको उल्लेख गरेका छन् । 

'प्रचण्डको भनाइले नेपालले आफ्ना दुई छिमेकी भारत र चीनसँग कायम रखेको सन्तुलनलाई कमजोर बनाउँछ,जुन दुवै नेपालको विकास र समृद्धिको हिस्सा हुन्। यस्ता विचारहीन टिप्पणीले यी राष्ट्रहरूसँगको साझेदारीलाई खतरामा पार्न सक्छ,' विज्ञप्तिमा भनिएको छ।

मुलुकको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षामा प्रधानमन्त्री ओलीले ऐतिहासिक नेतृत्व गरेको पनि विज्ञप्तिमा उल्लेख छ।  त्यसकारण प्रचण्डलाई आफ्नो अभिव्यक्ति तत्काल फर्ता लिएर नेपाली जनतासँग माफी माग्न एमालेले अनुरोध गरेको छ।

'नेकपा एमाले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै पुष्पकमल दाहाललाई आफ्ना गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ,' विज्ञप्तिमा भनिएको छ।

'द हिन्दु' सँगको अन्तर्वार्तामा दाहालले नयाँ सरकारको नीतिका कारण नेपाल-भारत सम्बन्ध तनावग्रस्त भएको र फेरि सीमा समस्या चर्कने ‘खतरा’ रहेको बताएका थिए । उनले आफ्नो १८ महिने कार्यकालमा नेपाल-भारत सम्बन्धलाई 'नयाँ उचाइमा' पुर्‍याएको दाबी गरेका थिए ।

दाहालले आफ्नो कार्यकालमा 'नेपाल-भारत' सम्बन्ध नयाँ उचाइमा पुगेको' र २०२३ जुनमा गरेको भारत भ्रमणका क्रममा भारतसँग धेरै महत्त्वपूर्ण तथा दूरगामी सम्झौता गरेको जनाएका थिए । तर आफ्नो नेतृत्वको सरकार हटाइएपछि नेपालमा भारतविरोधी कार्य भइरहेको दाबी गर्दै दाहालले त्यो प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको अपरिपक्वताको प्रमाण भएको दाबी गरेका थिए ।

शनिबार १ मंसिर २०८१ ०९:०६ PM मा प्रकाशित

प्रतिक्रिया