×

रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको छानबिन समितिको ठहर, प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गर्ने तयारी

images

काठमाडौं ।  संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आज सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेस हुने भएको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

समितिको एक सूत्रका अनुसार रवि लामिछानेमाथि अत्यधिक सरोेकार रहेको समितिको प्रतिवेदनमा उनलाई दोषी औंल्याइन्छ कि औंल्याइँदैन भन्ने सर्वाधिक चासो रहेको छ । समितिका एक सदस्यका अनुसार प्रतिवेदनमा सर्वसाधारणको बचत दुरुपयोग गर्ने सबैलाई दागी बनाइएको छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९–०८०’ पेस गर्ने कार्यसूची छ भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

समितिको छानबिनमा लामिछाने दोषी देखिएको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार विभिन्न सहकारीबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा आएका रकम खर्च गर्दा लामिछानेको हस्ताक्षर रहेकाले उनी पनि रकम अपचलनमा संलग्न भएको पुष्टि भएको हो । 

गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको समितिले जनाएको छ । 

‘४० वटा सहकारीमध्ये एक अर्बभन्दा तल रकम अपचलन गर्ने कुनै देखिएन । जीवी राईको ८ अर्ब अपचलन देखिन्छ, केदारनाथ शर्माको ३३ अर्ब छ । सुमेरुकै छ १५ अरब छ’, एक सदस्यले भने,  ‘विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्कमा आएको पैसा खर्च गर्नेमा रवि लामिछानेको संलग्नता देखियो ।’

समितिले गोरखा मिडियामा सहकारीमार्फत पैसा ल्याउने प्रक्रियाको जिम्मा जीवी राईले गरेको पाइएको पनि जनाएको छ । ‘रवि कार्यरत रहेको १४ महिनाको समयमा गोरखा मिडियामा ६५ करोड खर्च भएको छ, जसको हस्ताक्षर रविले गरेका छन् । जीबीले एउटा ४० लाखको चेकमा हस्ताक्षर गरेका छन्’, अर्का समिति सदस्यले रातोपाटीलाई भने, ‘गोरखा मिडिया नेटवर्कको रवि प्रबन्ध निर्देशक समेत भएकाले उनको संलग्नता पुष्टि भएको हो ।’  

रवि, जीवी र छवि समेतले गैरकानुनी ढंगले सेयर लिएको, पैसा जम्मा गरेको र भौचर समेत बुझाएको देखिएको समितिले भनेको छ । ‘संलग्नहरूलाई कानुनी कारबाही गर्न समितिले सिफारिस गर्ने सहमति भएको छ’, एक सदस्यको भनाइ छ ।

गत जेठ १५ गते एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा ७ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको थियो।

समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र सुरुमा बद्री पाण्डे र पछि उनको स्थानमा दिलेन्द्रप्रसामद बडु, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान छन्।

सोमबार ३१ भदौ २०८१ ११:१९ AM मा प्रकाशित

प्रतिक्रिया