×

साउन महिनामा रेमिटेन्स २९.९ प्रतिशतले बढ्यो

images

काठमाडौँ । साउन महिनामा रेमिटेन्स २९.९ प्रतिशतले वृद्धि भएको छ । 

देशको आर्थिक तथा वित्तीय स्थिति सार्बजनिक गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह (रेमिटेन्स) २९.९ प्रतिशतले वृद्धि भई १७ खर्ब ७ अर्ब ४१ करोड पुगेको जानकारी दिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १३ खर्ब ६ अर्ब ६० करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १९ खर्ब ३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ८ अर्ब ८ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ रहेको थियो ।

मङ्गलबार ३१ भदौ २०८२ ०९:३७ AM मा प्रकाशित

प्रतिक्रिया