काठमाडौँ । नेपालको संचार क्षेत्रमा 'राष्ट्रले न देखेको' तर अथक परिश्रम र दूरदृष्टिले देशको डिजिटल भविष्यमा गढिरहेका एक व्यक्ति हुन्— केशव नेपाल । वर्ल्डलिंक कम्युनिकेसन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रूपमा हाल कार्यरत नेपालको जीवनयात्रा केवल व्यावसायिक सफलताको कथा होइन, बरु सामाजिक अभियान, दृढ संकल्प र राष्ट्रनिर्माणको सेवाको प्रेरणादायी गाथा हो ।
केशव नेपालको जन्म एक सरकारी जागिरे परिवारमा भयो । बाल्यकालदेखि नै उनमा अनुशासन, जिम्मेवारी र आत्मनिर्भरताको भावना भरिएको थियो । आमा-बाबुको स्थिर रोजगारीको आधारभूत सुरक्षा भएतापनि उनको विश्वास थियो- 'सफलता भनेको मेहनत र उद्यमशीलताबाट मात्र आउँछ ।'
उनको शिक्षाको सुरुवात पोखराको प्रतिष्ठित गण्डकी बोर्डिङ स्कुलबाट भयो । त्यतिबेला विद्यालयको व्यवस्थापन विदेशी टिमले गरेको थियो, जसले कडा अनुशासन र गुणस्तरीय शिक्षाको वातावरण निर्माण गरेको थियो । यही वातावरणले केशवमा कडा अध्ययन, जिज्ञासा र लगनशीलताको बीउ रोप्यो । त्यसपछि उनले बुटवल मल्टिपल क्याम्पसबाट उच्च शिक्षा हासिल गरे ।
आत्मनिर्भर बन्ने इच्छाले उनलाई विद्यार्थी जीवनमै बस किन्न प्रेरित गर्यो । चार वर्षसम्म उनले आफैं रात्रि बस चलाए । यो अनुभवले उनलाई आर्थिक रूपमा मात्र होइन, बरु नेपाली समाजको वास्तविकतासँग जोड्यो । उनले साधारण मानिसहरूको संघर्ष, जीवनशैली र मेहनतलाई प्रत्यक्ष रूपमा महशुस गरे ।
यसै बिच उनको अर्को चासो—पत्रकारिता—जाग्यो । बुटवलमा रहँदा उनले एक अंग्रेजी पत्रिका सुरु गरे, जसले उनको विचार, लेखन र संचार क्षमतालाई निकै बलियो बनायो । केही समयपछि उनी काठमाडौं आए र मेडिकल ट्रान्सलेशनमा काम गर्न थाले । छोटो समयमै उनले आफ्नो प्रतिभा देखाए र कनेक्सन पाक्षिक मा सम्पादक एभरेष्ट हेराल्डमा रिपोटर युथ टुडे जस्ता पत्रिकामा सम्पादक प्रकाशक भएर काम गरे ।
तर उनको मन सधैं उद्यमशीलतातर्फ लागिरहन्थ्यो । त्यसैले उनि काठमाडौंबाट फर्केर नया केहि गर्ने सोचमा लागे यसपटक उनको लक्ष्य ठूलो थियो—नेपालमा सस्तो र सहज इन्टरनेट पुर्याउने । यही सोचाइले उनलाई बुटवलमा 'बायु कम' नामक इन्टरनेट व्यवसाय सुरु गर्न प्रेरित गर्यो । आफै जीप चलाउँदै उनी नेपालको पूर्ण पहाडी-तराई भूभागमा घुमेर टावर राख्ने सम्भावना खोज्थे । यसरी उनी नेपालमै पहिलो व्यक्ति बने जसले फोन लाइनबिनै वायरलेस इन्टरनेट जडान गर्न सकिने प्रमाणित गरे ।
प्रविधि अगाडि बढ्दै जाँदा केशव नेपालले एफटीटीएच (फाइबर टु द होम) को अध्यन गरे र यसको विस्तारमा ध्यान दिए, जसले सार्वजनिक इन्टरनेटलाई अझ भरोसायोग्य र सस्तो बनायो । नेपालभर इन्टरनेट सस्तो र सुलभ बनाउन उनले 'लुम्बिनी नेट' नामक कम्पनी स्थापना गरे । लुम्बिनी नेटको प्रभावशाली वृद्धिले गर्दा वर्ल्डलिंक र लुम्बिनी नेट एकआपसमा गाभिए र संक्रमणकालमा केशव वर्ल्डलिंक कम्युनिकेसनको सीईओ बने ।
सीईओ बनेका बेला वर्ल्डलिंकसँग करिब ७५ हजार मात्र प्रयोगकर्ता थिए । तर उनको दृष्टि, योजनाबद्धता र कार्यान्वयन क्षमताले यो संख्यालाई १० लाख भन्दा बढी पुर्यायो । यसरी उनी नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीलाई नयाँ उचाइमा पुर्याउने मुख्य शिल्पी बने ।
दूरदृष्टि: डिजिटल नेपालको सपना
केशव नेपालको योगदान केवल व्यावसायिक सफलतामा मात्र सीमित छैन । उनी डिजिटल नेपालको सपनालाई साकार पार्ने अग्रणी हस्ताक्षर हुन् । जब सरकारले डिजिटल नेपालको योजना बनाइराखेको थियो, उनी कर्णाली प्रदेशको हुम्ला जस्ता दुर्गम जिल्लाका सिमकोट जस्ता गाउँपालिकामा पुगेर अध्ययन गरिरहेका थिए—कसरी नेपालका अति दुर्गम स्थानमा सूचनाको पहुँच गराउन सकिन्छ भनेर । उनी सुदूरपश्चिमका सबै हिमाली भेगमा महिनौं लगाएर पैदल घुमेका छन्, स्थानिय आवश्यकता र सम्भावनाहरूको अध्ययन गरेका छन्। यो उनको राष्ट्रप्रतिको गहिरो लगाव र सेवाको भावनाको प्रमाण हो ।
आफ्नो नेतृत्व क्षमतालाई अझ बलियो बनाउन उनले विश्वप्रसिद्ध 'इनसीड' बाट एक्जुकेटिभ एमबिए (इएमबिए) गरे । यसले उनलाई अन्तर्राष्ट्रिय अनुभव, प्रबन्धकीय कौशल र दीर्घकालीन दृष्टि प्रदान गर्यो ।
उनी विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् र सूचना प्रविधिका विशेषज्ञको रूपमा चिनिन्छन् । उनलाई नोकिया गेट टु फास्ट फास्टर २०१९ सम्मेलनमा 'बिजिनेस एज अनयुजल' पुरस्कारले सम्मानित गरिएको छ ।
केशव नेपाल व्यक्तिगत जीवनमा साधारण, विनम्र र अन्तर्मुखी छन् । तर कार्यक्षेत्रमा उनी एक उत्कृष्ट योजनाकार, कुशल कार्यान्वयनकर्ता र जनमुखी नेतृत्वकर्ता हुन्। उनको जीवनले देखाउँछ कि कसरी दृढ संकल्प, अथक परिश्रम र राष्ट्रप्रतिको सेवाको भावनाले एउटा व्यक्तिले सम्पूर्ण राष्ट्रको डिजिटल भविष्यलाई नै परिवर्तन गर्न सक्छ ।
नेपालको डिजिटल क्रान्तिको यो यात्रा अझै लामो छ, तर केशव नेपाल जस्ता दूरदृष्टा समाजसेवीहरूको नेतृत्वमा नेपालको डिजिटल सपना अवश्यै साकार हुने विश्वास गर्न सकिन्छ । आजको नयाँ नेपाल र नयाँ पुस्ताका राष्ट्रले न देखेको 'एक सम्भावित नेता' ।
प्रतिक्रिया