काठमाडौँ । नेपालको पर्यटन उत्पादनहरूको बारेमा स्थानीय पर्यटन क्षेत्रका प्रतिनिधिहरूसँग संलग्न हुने र हङकङका पर्यटकीय प्राथमिकताहरू बुझ्ने उद्देश्यले नेपालको महावाणिज्य दूतावासले हङकङमा नेपाल पर्यटन प्रवर्द्धन सेमिनार २०२५ आयोजना गरेको छ ।
हङकङ पोलिटेक्निक विश्वविद्यालयको होटल एण्ड टुरिज्म म्यानेजमेन्ट स्कूलका डीन प्रोफेसर काय चोन विशेष अतिथि थिए । उनले नेपालको आफ्नो असंख्य भ्रमणहरू र यसको अद्वितीय प्राकृतिक सौन्दर्य र सम्पदाको बारेमा प्रेमपूर्वक वर्णन गरे र पर्यटन पूर्वाधार र नवीनतालाई सुदृढ पार्नुपर्ने आवश्यकतामा जोड दिए ।
'नेपालको पर्यटन उत्पादनहरूलाई हङकङका पर्यटकहरूको प्राथमिकतासँग मिलाउने' विषयमा एक प्यानल छलफल प्रोफेसर क्याथरिन चेउङ, प्रोफेसर आदा लो र प्रोफेसर रोशिस कृष्ण श्रेष्ठ लगायत पर्यटन र आतिथ्य विज्ञहरूसँग गरिएको थियो । प्यानलले हङकङका पर्यटकहरूको प्राथमिकता, पर्यटन उद्यमशीलतामा एआई र डिजिटल प्लेटफर्महरूको लाभ उठाउने र गैर-परम्परागत पर्यटन उत्पादनहरूमा विविधीकरण जस्ता विषयहरूमा छलफल गरेको थियो र कन्सुल सतीश गुरुङले यसको व्यवस्थापन गरेका थिए ।
कन्सुल जनरल डा. बिन्देश्वर प्रसाद लेखकले पर्यटन क्षेत्रमा रहेका अवसरहरूको बारेमा सम्बोधन गर्दै नेपालको पर्यटन प्रवर्द्धन र यस क्षेत्रमा लगानी गर्न नेपाली डायस्पोराको भूमिकामा जोड दिए । नेपाल एयरलाइन्स, हङकङका कन्ट्री म्यानेजर मिगी केसी र हङकङका नेपाल पर्यटन प्रवर्द्धक प्रकाश पुनले पनि संक्षिप्त प्रस्तुति दिएका थिए ।
कार्यक्रममा स्थानीय यात्रा, खाद्य तथा पेय पदार्थ क्षेत्रका प्रतिनिधिहरू साथै शिक्षाविद् र स्थानीय समुदायका नेताहरूको उपस्थिति थियो ।
प्रतिक्रिया