×

उत्तरायण र दक्षिणायनमा विवादको अन्त्य हुनुपर्यो

images

सवै पहेंलो धातु सुन हुनसक्दैन । देख्दा सुन जस्तो देख्दैमा पनि त्यो सुन नै हुनुपर्दछ भन्ने पनि छैन । ठीक यस्तै भने झैं हरेक विदेशी लेखकले लेखेको हुंदैमा त्यो लेखाई सर्वात्मना सत्य हुनैपर्दछ भन्ने जरुरी छैन । अध्ययन अनुसन्धानको क्रममा त्यस्ता  लेखाईहरु गलत ठहरिएका उदाहरणहरु थुप्रै छन् ।


यसरी विदेशी लेखकहरु मात्र होइन स्वदेशी लेखकहरु मध्ये अव्वल कहलिएका एवं देशले सम्मान गरेका विद्वान भनाउंदाहरुले लेखेका कुरा पनि सवै सत्य ठहरिएका छैनन् । किनभने अनुसन्धानको कुनै विश्राम हुंदैन ।  फेरि अनुसन्धानको विश्राम हुंदैन भन्दैमा  जाल झेल कपटपूर्ण कुरा सम्प्रेषण गरेर जानु पनि हुंदैन । नियतवस गलत सम्प्रेषण नगरिएको होला तर त्यसो भएतापनि केही कुरा लेख्दा दायाँवायाँ तलमाथि अलिकति परख गरे बिना नै लेख्ने बानी धेरै लेखकहरुको देखिएको छ । पहिलेका लेखकहरुले कुनै परख नै नगरिकन लेखेर छोडेर गएका कारण त्यस्ता धव्वाहरु पन्छाउन नै धेरै समस्या खडा भइरहेका छन् । जसले गर्दा कुनै नयाँ आविष्कार गर्न चटारो परिरहेका वेलामा पहिले ती काला धव्वाहरु नै मेटाउंदा मेटाउंदैमा हत्तु हैरान हुने भइरहेको छ । त्यस्ता केही काला धव्वाहरु यस प्रकारका छन्

१.  ३९० दिन भएको वर्ष कुनै शास्त्रमा छैन \

सवैलाई थाहा छ यस पृथ्वीलोकमा ३९० दिन भएको वर्ष कहीं पनि छैन र कुनै पनि शास्त्रहरुमा १ वर्षमा ३९० दिन हुन्छ भनी लेखिएको छैन । तर अफसोच गणित शिरोमणि कहलिएको व्यक्तिले तिथिमिति गणना गर्ने क्रममा जानाजान नियतवस ढंगले एउटा वर्षमा ३९० दिन हुने हिसाव यसरी दिइएका छन् ।
एउटा माघ शुक्ल त्रयोदशी तिथि भएको अभिलेखको मिति लिइएको छ । त्यही वर्षमा पौषमा अधिमास परेको पनि देखाइ दिंदा मान्छेले हो भन्नु स्वभाविक भयो । मन्दिरमा बोका काट्दा पर्साउने चलन छ । पानी छर्केर पर्साइ सकेपछि त्यो बोकालाई काट्न पाइयो भने झै यहाँ पनि पौषमा परेको अधिमास देखाएर ३९० दिनको हिसाव गरिकन छप्काए भने जस्तै भयो ।

जस्तैः चैत्र १,वैशाख२,ज्येष्ठ ३,आषाढ४,श्रावण ५,भाद्र ६,आश्विन७,कार्तिक ८ ,मार्ग ९,प्रथमपौष,१०,द्वितीयपौष ११ = ११ ह् ३०=३३०
त्यो वर्षको माघ शुक्ल त्रयोदशी तिथि १३ समेत कूल दिन ३३० + १३ = ३४३ ।
जव माघ शुक्ल त्रयोदशी सम्म ३४३ हुन्छ भने त्यो वर्ष साल तमाम हुन ४७ दिन बाँकी हुन्छ । किनकि माघ शुक्ल चतुर्दशी १, माघशुक्ल पूर्णिमा १, माघ कृष्णपक्ष १५ दिन  फागुन को शुकलपक्ष १५, कृष्णपक्ष १५ यी सवै गर्दा ४७ दिन । 
३४३ + ४७ = ३९० । गणित शिरोमणिलाई ३९० दिनको वर्ष यो संसार मै छैन भनी थाहा छ तापनि थाहा हुंदा हुंदै यस्तो गलत कुरा सम्प्रेषण गर्नु भनेको कपटपूर्ण हो ।
गणित शिरोमणिको यो कपटपूर्ण कुरालाई जसरी भए पनि ढाकछोप गर्न र यही कुरा ठीक हो भन्न केही पण्डितहरु तम्सिएर अगाडि बढे । पण्डितहरुको पहिलो प्रक्षेपण भनेको दिन भनेको के तिथि भनेको के नै थाहा छैन भनी झम्टिन आए । जव दिन भनेको र तिथि भनेको के भनेर थाहा छ भन्दैमा ३९० दिन हुने होइन तथापि ३९०  नै स्वतः देखा पर्छ भन्न थाले । जव संसार मै कुनै पनि वैज्ञानिकहरुले ३९० भएको वर्षको गणित आविष्कार गर्न सकेको छैन । दिन र तिथि भनेको थाहा हुंदैमा पण्डितले कुन ध्रुवबाट ३९० दिन हुन आउछं भन्न सकेको हो । यदि एउटा मात्र क्यालेण्डर देखाउनु न भन्दा देखाउन सक्दैन भने केवल कुरा मात्र गरेर हुंदैन । यही  २०८० सालमा पनि साउनमा अधिमास परेको प्रत्यक्ष अगाडि नै छ तर यो वर्ष  ३९० दिन छैन । यही उदाहरण काफी  भइरहेको छ ।

२. अधिमास भए पनि त्यो वर्ष १३ महिना हुने होइन
दिन र तिथि थाहा हुंदैमा  ३९० दिन को वर्ष हुंदैन भने अधिमास भएको बेलामा १३ महिना पनि हुने होइन । १३ महिना भन्नु र ३९० दिन भन्नु एउटै कुरा हो । अहिले नेपालसंवत्को बारेमा लेख्नेहरुले यो संवत् चान्द्रमासको हो र अनला(अधिमास) भएको बेलामा १३ महिना हुन्छ भनेर लेख्दै आएका छन् । तर लेख्ने मान्छेको लेख पनि अगाडि राख्यो र क्यालेण्डर पात्रो पनि अगाडि राख्न नसकिने त हुंदै होइन । ती दुइटै अगाडि राखेर १० चोटी दिन गनेर हेर्न सकिन्छ नि । तव ३९० कहाँ छ र १३ महिना कहाँ छ प्रत्यक्ष देख्न पाइने कुरा पनि भनाइको पछि लाग्नु भनेको बुद्धिमत्ता होइन । कहिले कहिलेको क्यालेण्डर खोजी गरी राख्नै पर्दैन अहिले चलीरहेको यो २०८० सालको क्यालेण्डर त हाम्रै अगाडि छँदैछ । यस्तो सामान्य कुरामा त अलमलिनेहरुलाई  ९ ।१० पेजको हिसाव देखाइ दियो  भने उनीहरु मूर्छा पर्नु त स्वभाविक भएको मात्र हो ।

३. उत्तरायण र दक्षिणायनलाई  दिग्भ्रमित पार्ने कुरा
सारा दुनियाँलाई थाहा छ कि ६ महिना उत्तरायण र ६ महिना दक्षिणायन हुन्छ । अर्को कुरा जनवरी देखि जून सम्म यो ६ महिना उत्तरायण र जुलाइ देखि डिसेम्वर यो ६ महिना दक्षिनायण हुने पनि धेरैलाई थाहा छ । सामान्य मान्छेहरुलाई केवल ६ महिना सूर्य उत्तरायण हुन्छ र ६ महिना दक्षिणायन हुन्छ भन्ने सम्म थाहा छ । तर कहिले देखि उत्तरायण हुने र कहिले देखि दक्षिणायन हुने थाहा छैन । यस्तो अवस्थामा हेर्दा जो विद्धान जस्तो देखियो उसले भनेको सही होला भनेर विश्वास गर्ने गरेका छन् । कोहीकोही  विदेशी विद्वानले लेखेको भन्दै सोझै विश्वास गर्ने गरेका छन् । सवै पहेंलो धातु सुन होइन भनेको कारण यही हो ।
उत्तरायण र दक्षिणायन बारेमा लेखकहरुको तर्क 

....लिच्छवि संस्कृतिमा  सूर्यको उत्तरायण पौष र दक्षिणायन असार देखिन आउंछ । केवल सूर्य सिद्धान्तको गणितमा माघ र श्रावण हुन् । लिच्छवि संस्कृतिमा सूर्यले पृथ्वीको वरिपरि घुम्छ । त्यसैको कारणबाट उत्तरायण र दक्षिणायन आएका हुन् । पृथ्वीले सूर्यलाई वरिपरि घुमेको भए त्यसरी सूर्यको अयन किन चाहियो? लिच्छवि संस्कृतिमा सूर्यको पूर्वायन छैन ।.........( ललितपुर अंक ५वर्ष २०५३,पृ४०))

यो पनि एक जना प्राध्यापक इतिहासकार कै भनाइ हो । उनले लेख्यो भन्दैमा आँखा चिम्लेर पत्याउन हुंदैन । किनभने उहाँको भनाइबाट लिच्छविकालमा पृथ्वीलाई सूर्यले घुमेको हुंदा उत्तरायण दक्षिणायन आएको तर्क छ । यस्तो तर्कको पछि लाग्नु  हुंदैन ।
अयनांशको ज्ञान कहिलेदेखि भयो भनी खोज्दै जाँदा वि.सं ९६१ मा वटेश्वरले अयनांशको संकेत सम्म गरेका र वि.सं ९८९ मा मुञ्जालले चाहिं अयनांशको स्पष्ट चर्चा गरेका रहेछन् भन्ने देखियो ।(पूर्णिमा ३९ अंकका १४५ — १४६ पृष्ठ)
संशोधन मण्डलले अयनांशको मात्रै अध्ययन गरेको रहेछ अतः उत्तरायण र दक्षिणायन बारेमा केही चर्चा गरेको देखिएन । 

सवैभन्दा लामोदिन सूर्यदक्षिणायनको प्रारम्भ विन्दू श्रावण संक्रान्ति भनिने १ गतेको सट्टा अहिले आषाढ ७ मा भइ २४ दिन वर आइसक्यो । तस्तै,सवैभन्दा छोटो दिन सूर्य उत्तरायणको प्रारम्भविन्दू मकरसंक्रान्ति अर्थात् माघ १ गतेको सट्टा अहिले पौष ७ मा भइ २४ दिनफरक भइसक्यो । वर्तमानमा  हामीले यसमा नसच्याउने हो भने अवको करिब ४३० वर्षमा पूरा एक महिना अयनांश फरक पर्छ र भविष्यमा धार्मिक पुण्यकार्य लगायत ज्योतिष विद्याकोअस्तित्व र धर्म दुवै संकटमा पर्नेछ । (पर्वसुधार राष्ट्रिय कार्यदल २०६३ को प्रतिवेदनबाट )

वर्षको लामो दिन र छोटो दिन  भन्नु र उत्तरायण र दक्षिणायन भन्नु दुइ पृथक विषय हुन् । किनभने जेठको पूर्णिमा(ज्यापुन्ही) सवभन्दा लामो दिन हो भने मंसिरको पूर्णिमा(योमरि पुन्ही) छोटो दिन हो । यो उत्तरायण र दक्षिणायनको मानक दिन होइन  । उत्तरायण र दक्षिणायनको मानक दिन माघ १ गते र श्रावण १ गते हो । यसरी माघ १ गते र श्रावण १ गते उत्तरायण र दक्षिणायन भएको मान्दा गणितमा के समस्या पर्ने हो ? माघ १ को सट्टा पौष ७ गते हुनु पर्ने र श्रावण १ को सट्टा आषाढ ७ गर्नु पर्ने कारण सहित गणनाद्वारा सिद्ध गर्ने कि ? यदि यसलाई नसच्याउने हो भने अवको करिब ४३० वर्षमा पूरा एक महिना अयनांश फरक पर्छ र भविष्यमा धार्मिक पुण्यकार्य लगायत ज्योतिष विद्याको अस्तित्व र धर्म दुवै संकटमा पर्नेछ । जस्ता अमूर्त कुरा गरेर भएन नि । कुनै पनि पुण्यकार्यको मापदण्ड के यो नापेर नाप्न सकिने कुरा होर ? ज्योतिष विद्याको अस्तित्व र धर्ममा संकट पर्ने भनेको कस्तो ? यो त अमूर्त कुरा हो । 

आकाशमा नौलाख तारा छन् भनिएको छ यदि यो होइन भन्नेले आकाशको तारा गन्न जानु प¥यो । ल गनेर नै आएको हो भनियो भने विस्वास गर्ने आधार पनि लिएर आउनु पर्ने हुन्छ । सूर्य उत्तराय० माघ १ गते होइन पौष ७ गते हो भन्ने गणित गरेर देखाएको खण्डमा मूर्त कुरा आउने हुन्छ । पौष ७ र माघ १ को बीचमा २४ दिन फरक भनेर भन्दैमा पत्याउने आधार चाहियो, सिद्धान्त चाहियो । यदि माघ १ लाई मान्दा यो गणितमा  यो मिलेन र पौष ७ गते मान्दा त्यही गणित यसरी मिल्यो भनेर देखाउने औकात पनि हुनु प¥यो नि । पर्वसुधारका आधार नामक पुस्तिका र प्रतिवेदनमा त्यस्तो गणित कुनै कतै पनि दिन सकेको छैन ।

डा. पाण्डुरंग वामन काणेको धर्मशास्त्रका इतिहासमा दिइए अनुसार  जनवरी १४ तारिखलाई प्राचीन मान्यता अनुसार उत्तरायण शुरुहुने दिन भनेर दिइएका छन् ।  यसको अर्थ माघ १ गते  नै सूर्य उत्तरायण  शुरु हुने  हो र साउन १ गते सूर्य दक्षिणायन शुरु हुने हो ।  एक वर्ष भित्र ६ महिना उत्तरायण र ६ महिना दक्षिणायन हुने हुनाले  ३६५ दिनलाई १८३ दिन उत्तरायण र १८२ दिन दक्षिणायन हुने मान्यता अनुसार  साउनेसंक्रान्ति र माघेसंक्रान्तिलाई वैज्ञानिक तथा प्राचीन विद्वानहरुले मानेको यो मान्यतालाई मूर्त रुपले गणितद्वारा खण्डन गरिएको हुनु प¥यो तव पत्याउने आधार बन्न सक्ला । होइन भने २४ दिन वर आइसकेको कुरा प्रत्याभूत कहीं कतै बाट भएको छैन । यो त केवल भ्रान्ति सिवाय केही होइन । पंचतन्त्रको कथामा खरायोले पृथ्वी फुट्यो भनेर दौडाए जस्तोमात्र भएको हो भन्दा यो कुनै अन्यथा नहोला ।

पञ्चसिद्धान्तिकामा वर्षको१२ वटा संक्रान्तिलाई चार श्रेणिमा विभाजन गरिएका छन् । ती मध्ये दुइवटा संक्रान्तिलाई अयन संक्रान्ति भनिएका छन् । यी दुई अयन संक्रान्तिमा एक मकर संक्रान्ति र अर्को कर्कट संक्रान्ति हुन् । मकर संक्रान्तिमा सूर्य उत्तरायण हुन आरम्भ हुन्छ भने कर्कट संक्रान्तिमा सूर्य दक्षिणायन हुन आरम्भ हुन्छ ।

अर्को दुइ संक्रान्तिलाई विषुव संक्रान्ति भनिएका छन् । यो विषुव संक्रान्ति भनेको पहिलो मेष संक्रान्ति र अर्को तुला संक्रान्ति हो । यी दुइ विषुव संक्रान्तिमा रात र दिन बरावर हुन्छ । यी बाहेक षडशीतिमुख संक्रान्ति भनेको मिथुन कन्या धनु मीन हुन् भने वृष सिंह वृश्चिक र कुम्भलाई विष्णुपदी संक्रान्ति भनेका छन् । दिन लामो चाहीं जेष्ठ पूर्णिमा र रात लामो चाही मंसिर पूर्णिमा मान्दा कहीं कतै ठेस लाग्ने भन्ने महसूस कसैलाई भएको छैन । यो पनि गलत छन् भनेर सिद्ध गर्न गणित द्वारा खण्डन गर्न सकेको हुनु प¥यो । त्यत्तिकै २४ दिन वर आइ सक्यो भनेर अमूर्त कुरा गरेर पार लाग्ने कुरा होइन । यसरी २४ दिन वर स¥यो भनेर विश्वास गर्नेहरुले सर्व प्रथम पंचसिद्धान्तिकामा दिइएको शास्त्र सम्मत कुरा गलत छ भनेर नै खण्डन आउनु प¥यो । 

विवाद देखापर्नुको संभाव्य कारण

पृथ्वीले सूर्यलाई एक फन्को परिक्रमा गर्न १ वर्ष लाग्छ । यो एक वर्ष भनेको ट्वाक्क ३६५ दिन मात्र होइन । ३६५को दशमलव भन्दा पछिको समय हरेक सिद्धान्तको आफनै छन् । जस्तै ः सूर्यसिद्धान्त, आर्यसिद्धान्त र ब्रम्हसिद्धान्तको फरक फरक छन् । कसैले भन्छ सूर्यसिद्धान्त ठीक अरु गलत, त्यस्तै कसैले आर्य त कसैले ब्रम्हसिद्धान्त ठीक अरु गलत भन्ने होला । त्यस्तै गरि वासन्तिक विषुवको अनुसार ३६५ दिन १४ घडि ३१.९७२ पला छन् भन्छन् भने नाक्षत्र वर्षमा ३६५ दिन १५ घडि २२पला ५३ विपला छन् । यही घडी पला हेरेर  वासन्तिक विषुव को विन्दु भन्दा २३ अंश बढी भयो । यही २३ अंशलाई नै अयनांश भनिएको हुनुपर्छ । 

यसरी वासन्तिक विषुवको अगाडि सूर्यसिद्धान्त २३ अंशले बढी देखियो रे भने सूर्यसिद्धान्त गलत छ काम लाग्दैन भनेर सिद्ध गर्नसक्ने औकात पनि हुनु पर्छनि । यसरी कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि भने झै कसैकोलागि सूर्यसिद्धान्त नै ठीक र कसैलाई वासन्तिक विषुव ठीक जँचिएका होला । यसमा कुन ठीक कुन बेठिक भन्ने हैसियत पर्वसुधार राष्ट्रिय समितिको छैन ।
जसरी सूर्यसिद्धान्तको वर्ष संग अरु ३६५ को दशमलव पछि को अंक फरक  भने झैं जुलियन ग्रेगोरियन र १७५१को ब्रिटेनको संशोधनमा पनि फरक छ ।  तात्कालिक वैज्ञानिकहरुले गणना गर्दा एकसौर वर्षमा ३६५.२४२२१८ दिन हुन्छ भनी हिसाव निकाले । तद्नुसार दिन घण्टाको हिसावले भन्नु पर्दा ३६५ दिन ५घण्टा ४८ मिनेट ४७ सेकेण्ड करिव हुन आउंछ भनेर पनि हिसाव निकाले । यो हिसाव संग जुलियन ग्रगोरियनमात्र होइन सूर्यसिद्धान्त, वासन्तिक विषुव नाक्षत्र वर्ष ती सवै संग ३६५ दिन सवैको उही हो दशमलव भन्दा पछाडिको अंक भने सवैको संग फरक छ । पछिल्लो संशोधन यही भएकोले यसैलाई आधिकारिक मान्नु परेको हो अर्को विकल्प छैन ।

साधारणतः १ सौर वर्ष भनेर ३६५ दिनलाई लिने गरेको छ । अतः ३६५ दिनको एक वर्ष भनेर साधारण वर्षको रुपमा लिइन्छ । तर एक सौर वर्षमा ३६५.२५ दिन हुने हुनाले चारवर्ष पूरा भएपछि ०.२५ गुणा ४ गर्दा पूरा १ दिन हुन आउने भएकोले हरेक ४ वर्षमा ३६५.२५ह्४ गर्दा ३६६ दिन हुन आउंछ । 


इसापूर्व ४६ मा रोमका जुलियस सिजरले हरेक चारचारवर्षमा १ दिन थपेर ३६६ दिन भएकोवर्ष मान्ने नियम वसाले । किन्तु यसले पनि गणित ठीक जँचिन आएन ।  त्यसकारण ई  १५८२ मा रोमको धर्म गुरु पोपग्रेगरी १३ औंले वासन्तिक विषुव २१ मार्च होइन १० मार्च हुनु पर्ने ठहराएर ४ अक्टुवर को उपरान्त १० दिन धकेलेर १५ अक्टुवर बनाएर संशोधन गरे ।साथै प्रत्येक ४०० वर्षमा ३ दिन घटाउने नियम बसाले । त्यसरी ४ ले भाग गर्दा भाग शेष रहेन भने परिवत्सर वा दीर्घ वर्ष हुने मात्र होइन अपितु यदि वर्षको संख्यामा पछिल्तिर दुइवटा शून्य भएमा ४०० ले पनि भाग लाग्ने हुनुपर्छ भनी नियम बसाले । यसरी ४००ले  भाग गर्दा पनि शेष आएन भने मात्र परिवत्सर वा दीर्घ वर्ष वा लिपयर भनेर मान्नु पर्छ अन्यथा होइन भनेर निर्णय गरिएको अंग्रेजी क्यालेण्डरलाई ग्रेगोरियन भनिएको हो । यसरी ग्रेगोरियन आविष्कार भए पछि जुलियनको कुनै अस्तित्व रहेन ।


जुलियस सिजरको नियम अनुसार इस्वीसन २०००, २१००,२२००,२३०० आदि  लाई ४ ले भाग गर्दा सबैमा निशेष आउंछ तर ४०० ले भाग जाने केवल २००० मात्र हुन्छ  । त्यसकारण ४०० ले समेत भाग जाने मात्र लिपयर हुने अरु सवै साधारण वर्ष नै ठहरिने भएकोले त्यहाँ उप्रान्त ग्रेगोरियन क्यालेण्डर अनुसारको हिसाव लागु भएको हो । यस हिसावले प्रत्येक ४०० वर्षमा ३ दिन घटेको हुनाले प्रत्येक ४०० वर्षमा ९७ वटा लिपयर मात्र हुनेभयो । यदि जुलियस सिजरको अनुसार गएको भए ४ वर्षमा १ लिपयर हुने १०० वर्षमा २५ लिपयर हुने र ४०० वर्षमा १०० लिपयर हुन आउने हुन्छ । यसरी जुलियन क्यालेण्डर बिस्थापित भएर ग्रेगोरियन क्यालेण्डर लागुहुन गएको हो ।

त्यही ग्रेगोरियन क्यालेण्डर पनि विश्वका थुप्रै देश मध्ये क्याथोलिकले अपनाए तापनि ब्रिटेन लगायत अरु कतिपय प्रोटस्टेण्टहरुले भने मानेका थिएनन् । किनभने प्रत्येक ४०० वर्षमा ०.११२८ दिन जुन बढी हुन जाने थियो त्यसलाई ख्याल गरिएन भन्ने वैज्ञानिकहरुको आपत्ति जनाएकोले गर्दा ग्रेगोरियन क्यालेण्डरमा असहमत नै जारी रहे । आधुनिक ज्योतिष शास्त्रको गणना भन्दा ग्रेगोरियन वर्ष २६ सेकेण्डले बढी देखियो भन्ने ठहराए । ई १७५०सम्म पनि ब्रिटेनका सुधारवादी प्रोटेष्टेण्टहरुले पोप ग्रेगारीको सुधारलाई ठाडै इन्कार गर्दै आए । त्यतिवेला कानून नै बनाई २ सेप्टेम्वर उपरान्त १४ सेप्टेम्वर मानेर फेरि ११ दिन छोडेर क्यालेण्डर बन्यो । यो क्यालेण्डर न त जुलियन थिए न त ग्रेगोरियन थिए । यसमा जनवरी देखि जून सम्म ६ महिना मा १८१(१८२) दिन र जुलाई देखि डिसेम्वर सम्म ६ महिना १८४ दिन हुने निश्चित गरे ।यो आधुनिक सिद्धान्त अन्तर्गत सूर्य उत्तरायण जनवरी १४ या १५ पर्न आउने हो भने ग्रेगोरियन सिद्धान्तले मात्र २१।२२ डिसेम्वर लाई उत्तरायणको आरम्भ दिन देखिने गरेको हो । अहिले आधुनिक सिद्धान्त आइसकेपछि ग्रेगोरियन अनुसार २१ डिसेम्वर नै उत्तरायण हुने हो भनी जिद्दी गरी आउनुको कुनै औचित्य छैन । ग्रेगोरियन सिद्धान्त अनुसार गणना गर्दा मिनेट सेकेण्ड समेत हिसाव गरेर डिसेम्वर २१ को दिन यति वजेर यति मिनेट जाँदा सूर्य उत्तरायणमा सर्ने भनेर दिइएको देखिए तापनि त्यसको कुनै अर्थ छैन । डेट स्पायर भैसकेको औषधीले रोग निको पार्न चमत्कार ग¥यो भन्नु र ग्रेगोरियन अनुसार २१ डिसेम्वर नै सूर्य उत्तरायण हुने हो भनी पत्याउनु उस्तैउस्तै कुरो हो । 

निष्कर्ष
 आकाशमा देखिने नौलाखे तारा गन्न जानु आवश्यक पनि छैन । कुनै मोटा मोटा ग्रन्थ र बिदेशी विद्वानले लेखेको भन्दैमा त्यही सत्य ठहरिने पनि होइन । सिद्धान्तहरु अनेकौं हुन्छन् तर सवभन्दा पछि प्रतिपादन भएको सिद्धान्त आधिकारिक हुन्छ किनकि त्यसमा अघिल्लो सिद्धान्तहरु नमिलेको देखेर नै नयाँ सिद्धान्त प्रतिपादन गरिएको हुन्छ । यस्तो कुनै अध्ययन नै नगरिकन २४ दिन वर स¥यो लौ बित्यास प¥यो भन्दै १ महिना वर सारेर पर्वसुधार गर्न सिफारिस गर्ने र त्यही सिफारिसलाई कार्यान्वयन गर्न तम्सिनुले अन्ततोगत्वा घातक निम्तिने सिवाय अरु केही हुंदैन । सावधान रहौं 


 

 

मङ्गलबार २ माघ २०८० ०४:३० PM मा प्रकाशित

प्रतिक्रिया