काठमाडौं । तीनकुने घटना सम्बन्धी मुद्दामा लामो थुनछेक बहसपछि बिहीबार अबेर राती काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईसहित ७ जना प्रतिवादीलाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
तर, त्यही तीनकुने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बारेमा भने थुनछेक आदेशमा कुनै उल्लेख छैन ।
अदालत स्रोतका अनुसार बयानका क्रममा अदालतमा उपस्थित नभएका मिश्र र जबरालाई अदालतले फरार प्रतिवादीको रूपमा राखेको छ । सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको बेला पनि उनीहरू उपस्थित भएका थिएनन् ।
प्रहरीको हिरासतमा भएकै बेला रवीन्द्र मिश्रले बन्दी प्रत्यक्षीकरण रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले उनलाई हिरासत मुक्त गर्न भनेको थियो र हाजिर जमानीमा छोड्न आदेश दिएको थियो । यसका बाबजुद उनी काठमाडौं जिल्ला अदालतमा भने उपस्थित भएका छैनन् ।
यता, धवल शमशेर जबरालाई प्रहरीले नै हाजिर जमानीमा छोडेको थियो । उनी क्यान्सर उपचार गराउन भन्दै भारत गएका थिए र नेपाल फर्किसकेका छन् । तर, अदालतमा भने उपस्थित भएका छैनन् ।
अदालत प्रशासनका अनुसार मिश्र र जबरालाई फरार प्रतिवादीको हकमा पक्राउ पुर्जी जारी हुनेछ । यसको मतलब उनीहरूलाई अदालतमा उपस्थित गराउन प्रहरीले खोजी र पक्राउ गर्न सक्नेछ ।
प्रतिक्रिया