×

भ्रष्टाचार, कुशासनको विरुद्धमा संघर्षमा उत्रिन आजपा अध्यक्ष प्रभु साहको आह्वान

images

हेटौडा । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बैंक, लघुवित लगायतबाट पीडितहरुको समस्या समाधान गर्न सरकार उदासिन रहेको आरोप लगाएका छन् । पीडितहरु पूर्व र पश्चिमबाट पैदल हिडेर काठमाडौंमा संघर्ष गरिरहेको भए पनि उनीहरुको आवास सरकारले सुन्न नचाहेको उनले बताए । आजपाको मकवानपुर जिल्ला कमिटीका आज हेटौडामा सम्पन्न प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताए ।

सरकारले ढिला नगरी छिटै नै पीडितहरुको माग सम्बोधन गर्नुपर्ने माग उनले गरे । साथै काठमाडौंमा पीडितहरुले जारी गरेको आन्दोलनमा आजपाको साथ सहयोग र समर्थन रहेको उनले बताए । गौर हत्याकाण्डका शहिद परिवारलाई सोही कार्यक्रमका बीचमा सम्मान गरिएको छ । अध्यक्ष साहले गौर हत्याकाण्डका हत्यारालाई कारवाही गर्नुपर्ने बताउँदै सरकारले हत्यारालाई कारवाही गर्न किन नसकेको र मौन किन बसेको भन्दै प्रश्न समेत गरे ।

अहिलेको व्यवस्था असफल भएको र जनताको शासन व्यवस्थामा पहुच हुनुपर्ने बताउँदै परिवर्तनका लागि संघर्षमा उत्रिन उनले सहभागिहरुलाई आग्रह गरे । बैंक, वितिय संस्थाले लुट मचाएको र बढदै गएको भ्रष्टाचार, कुशासन लगायतको विरोधमा कडा रुपमा सडक संघर्षमा उत्रिन उनले निर्देशन समेत दिए । मकवानपुर जिल्लाको सम्पन्न भेलाबाट युवा नेता शिशिर राजथलाको संयोजकत्व र श्रीनिवास शाह, सुदिप राजथला सहसंयोजक हुने गरी ५१ सदस्यीय आजपाको मकवानपुर जिल्ला कमिटी गठन भएको आजपाका उपमहासचिव चन्द्रभुषण साहले जनाएका छन् । यसैगरी आजपा निकटको आईटी आर्मीको समेत मकवानपुर जिल्ला कमिटी सोही भेलाबाट सर्वसम्मत गठन भएको छ । युवा नेता पुकार थिंगको संयोजकत्व तथा जयचन्द्र साह, अरुण स्याङ्गतान र राधेश्याम कुशवाहाको सहसंयोजकत्वमा आईटी आर्मीको मकवानपुर जिल्ला ५१ सदस्यीय गठन भएको छ ।

आइतबार​ २० फागुन २०८० ०३:४३ PM मा प्रकाशित

प्रतिक्रिया