काठमाडौं । ३० वर्षीया भूमि चौहान आफ्नो उडान छुटेकोमा निराश थिइन् । तर, त्यसको केही समयपछि उनी यसको लागि आभारी भइन् ।
उनले छुटाएको उडान लन्डन जाँदै गरेको एअर इन्डियाको त्यही विमान थियो, जुन अहमदाबादबाट उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भयो । यस दुर्घटनामा विमानमा सवार २४१ जनाको मृत्यु भयो भने एक जना मात्र बाँचे ।
भूमि यस उडानमा गुजरातको आफ्नो गृहनगर अंकलेश्वरबाट सडकमार्गबाट आउँदै थिइन् ।
उनी भन्छिन्, “हामी समयमै अहमदाबाद पुग्यौं, तर शहरमा ट्राफिकका कारण म पाँच मिनेट ढिलो विमानस्थल पुगेँ । मलाई विमानस्थलमा प्रवेश गर्न दिइएन ।”
“सुरुमा मलाई धेरै दुःख लागेको थियो कि मेरो टिकटको पैसा खेर गयो र सायद मैले जागिर पनि गुमाउनेछु । तर, अब म आभारी छु… मेरो पैसा हराएको हुन सक्छ तर मेरो ज्यान बच्यो ।”
भूमि पहिले अध्ययनको लागि बेलायत गएकी थिइन्, तर दुई वर्षअघि मात्र उनले केवल चौहानसँग विवाह गरिन्, जो ब्रिस्टल शहरको एक बैंकमा कर्मचारी हुन् ।
‘उडान छुटेकोमा धन्यवाद’
भूमि भन्छिन्, “म पढ्न बेलायत गएकी थिएँ र त्यहाँ पार्टटाइम काम पनि गरेकी थिएँ । विवाहको दुई वर्षपछि म अंकलेश्वरमा रहेको आफ्नो घर फर्किएँ । म यहाँ डेढ महिना बसेँ । मेरो बिदा सकिएपछि म बेलायत फर्कँदै थिएँ ।”
भूमिले आफू ट्राफिकमा फसेको बताइन् । उनले अनलाइनबाट उडानको लागि चेक इन गरिन्, तर उनलाई उडानमा चढ्न दिइएन ।
उनले भनिन्, “एअर इन्डियाका कर्मचारीहरूले मलाई ढिलो भएको बताए । अध्यागमन सकिएको थियो र बोर्डिङ प्रक्रिया सकिएको थियो, त्यसैले म विमान चढ्न सकिनँ । मैले धेरै बिन्ती गरेँ, उनीहरूलाई भनेँ – म मेरो जागिर र टिकटको पैसा पनि गुमाउन सक्छु, तर कसैले सुनेनन् । मैले फिर्ताको लागि पनि मागेँ, तर उनीहरूले अस्वीकार गरे ।”
यसपछि भूमि विमानस्थलबाट निस्किइन् र फर्कने क्रममा उनी चिया पिउँदै थिइन्, जब उनलाई त्यो विमान दुर्घटना भएको थाहा भयो ।
भूमिले भनिन्, “हामी चिया पिउन रोकिएका थियौं र हाम्रो ट्राभल एजेन्टसँग कसरी पैसा फिर्ता पाउने भनेर छलफल गरिरहेका थियौं । त्यसपछि अंकलेश्वरबाट हामीलाई फोन आयो कि म यात्रा गर्न लागेको विमान दुर्घटनाग्रस्त भएको छ ।” उनको आवाजले आघातलाई प्रतिबिम्वत गर्यो ।
उनले भनिन्, “हामी तुरुन्तै मन्दिर गयौं र भगवानलाई धन्यवाद दियौं । अहमदाबादको ट्राफिकले मेरो ज्यान बचायो ।”
लन्डन जाँदै गरेको बोइङ ७८७-८ विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानेडियन नागरिक सवार थिए । गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि यात्रुहरूमा थिए ।
विमान दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । साथै, दुर्घटनामा मृत्यु हुनेको कुल संख्या पुष्टि भएको छैन । यद्यपि, विमानमा सवार २४२ जनामध्ये २४१ जनाको मृत्यु भइसकेको छ ।
स्थानीय प्रहरी प्रमुखले बताएअनुसार जम्मा २०४ शव निकालिएको छ । यद्यपि, यी शव विमानमा सवार यात्रुहरूको हो वा दुर्घटनाबाट प्रभावित आवासीय क्षेत्रका बासिन्दाहरूको हो भन्ने कुरा अहिले नै भन्न सकिँदैन ।
प्रहरीले दुर्घटनामा एक भारतीय मुलका बेलायती नागरिक बाँचेको पनि जानकारी दिएको छ । उनको नाम विश्वास कुमार रमेश हो । उनले भने, “उडान उडेको ३० सेकेन्ड भित्रै ठूलो आवाज आयो र त्यसपछि विमान दुर्घटनाग्रस्त भयो । यो सबै धेरै छिटो भयो ।”
–बीबीसी हिन्दीबाट
प्रतिक्रिया