×

लेबनानमा शान्ति सेनामाथि भएको इजरायली आक्रमणको नेपालले गर्‍यो निन्दा

images

काठमाडौं । नेपालले लेबनानमा इजरायलले संयुक्त राष्ट्र संघका शान्ति सैनिकविरुद्ध गरेको आक्रमणको कडा निन्दा गरेको छ।  परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको हो । 

युनिफिल अर्थात् संयुक्त राष्ट्र अन्तरिम बल लेबनानले आइतबार इजरायली सेना मुख्य गेट तोडेर शान्ति सैनिकको आधार क्षेत्रमा घुसेको र गोलाबारी गरेको बताएको थियो। जसको धुवाँले १५ जना शान्ति सैनिकलाई छालाको जलन र पेटसम्बन्धी समस्या भएको जनाइएको छ।  सो घटनाविरुद्ध संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने नेपालसहित ३४ देशले संयुक्त विज्ञप्ति निकालेर निन्दा गरेका हुन्।

सामाजिक सन्जाल एक्समा मन्त्रालयले लेखेको छ, ‘नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल (यू.एन.आई.एफ.आई.एल)का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्दछ । साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ । यस्ता आक्रमण तत्काल रोक्नुपर्दछ र घटनाको गहन अनुसन्धान गर्नुपर्दछ ।’ 


 

मङ्गलबार २९ असोज २०८१ ११:५७ AM मा प्रकाशित

प्रतिक्रिया