काठमाडौँ - पाकिस्तानलाई ५४ रनले हराउँदै न्युजिल्यान्ड आईसीसी महिला टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। योसँगै भारतीय क्रिकेट टोली पनि समूह चरणबाटै बाहिरिएको छ।
न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै ११० रन बनाएको थियो। जहाँ पाकिस्तानी टोली ५६ रनमा सीमित भयो। जितका लागि १ सय ११ रनको लक्ष्य पछ्याएको पाकिस्तान ११.४ ओभरमा ५६ रन मात्र बनाएर अलआउट भयो । राम्रो नेट रन रेटको जितमा सेमिफाइनल प्रवेशका लागि पाकिस्तानसामु आक्रामक खेल्ने विकल्प मात्र थियो ।
न्युजिल्यान्डका लागि ओपनर सुजी बेट्सले सर्वाधिक २८ रन बनाइन् । पाकिस्तानका लागि भने कप्तान फतिमा सानाले सबैभन्दा बढी २१ रन जोडिन् । यो जितपछि न्युजिल्यान्ड समूह ए को दोस्रो स्थानमा रह्यो । लिग चरणका सबै खेल जितेको अस्ट्रेलिया शीर्ष स्थानमा रहेर यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।
न्युजिल्यान्डको जितले भारतको अन्तिम चारमा प्रवेश गर्ने सम्भावना भने समाप्त भएको थियो । समूह बी बाट सेमिफाइनल पुग्ने टिमको भने निर्णय हुन बाँकी छ ।
प्रतिक्रिया