×

नक्कली भुटानी शरणार्थी प्रकरण- थुनछेक आदेश हुन सकेन

images

नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत जिल्ला अदालत काठमाडौंमा १० दिनदेखि चलिरहेको थुनछेक बहस निर्धारित समयमा नसकिएपछि इजलास आदेश दिन असफल भएको छ। प्रतिवादीतर्फका वकिलहरूको प्रतिरक्षा बहस लम्बिएकाले इजलासले बुधबार थुनछेक आदेश दिन नसकेको हो।

यही जेठ २१ गते इजलास सुरु गर्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेले १० दिनपछि (जेठ ३१) गते सबै बहस सकेर थुनछेक आदेश दिने कार्यतालिका तय गरेका थिए। जसमा पहिला तीन दिन (जेठ २३ गतेसम्म) वादी पक्षका वकिललाई बहसका लागि निर्धारण गरिएको थियो। त्यसपछिका ६ दिन (जेठ ३० गतेसम्म) प्रतिवादीका वकिलका लागि प्रतिरक्षा बहसको समय तोकिएको थियो। बुधबार (जेठ ३१ गते) जिल्ला सरकारी वकिल कार्यालयबाट जबाफी बहस गराएर थुनछेक आदेश दिने कार्यतालिका तय गरिएको थियो। जसअनुसार वादी पक्षका वकिलले सुरुमा निर्धारित समयमै बहस सकाएका थिए।

तर प्रतिवादीतर्फका वकिलले भने निर्धारित समयमा बहस नसकेपछि बुधबार समय थप गरिएको थियो। थप समयमा पनि प्रतिवादीतर्फका वकिलले प्रतिरक्षा बहस सकेका छैनन्। बुधबारको सुनुवाइ सकिँदा पक्राउ परेकामध्ये अझै तीनजना प्रतिवादीका वकिलहरूले प्रतिरक्षा बहस गर्न बाँकी छ। भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, लक्ष्मी महर्जन र हरिभक्त महर्जनका वकिलहरूको आफ्नो तर्फको बहस बाँकी छ। उनीहरूको बहस बिहीबार हुने भएको छ।

बिहीबार प्रतिरक्षा बहस सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंबाट जबाफी बहसका लागि इजलासले समय दिने कार्यक्रम छ। त्यसपछि मात्रै न्यायाधीश न्यौपानेले थुनछेक आदेश दिनेछन्।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्यूतमणि न्यौपानेले बिहीबार थुनछेक आदेश आउनसक्ने सम्भावना रहेको बताए। ‘चारजनाको बाँकी भए पनि श्रीमान् (न्यायाधीश) इरिटेड हुनुभएको छ। उहाँहरूको छोटोछोटो गरेर टुंग्याउन सके बिहीबार नै आदेश आउनसक्छ,’उनले भने, ‘हाम्रो तर्फबाट मैले आफैं जबाफी बहस गर्ने तयारी गरेको छु। त्यति धेरै समय लाग्दैन।’

खाणको प्रतिरक्षामा झन्डै दुई दिन बहस

पूर्वगृहमन्त्री बालकृष्ण खाणको प्रतिरक्षा बहसमा उनका वकिलहरूले झन्डै दुई दिन लिएका छन्। उनको पक्षबाट मंगलबार दिनभर १० जना वकिलहरूले बहस गरेका थिए। उनको तर्फबाट बहस गर्न ३४ जना वकिलले वकालतनामा भरेका छन्। मंगलबारको सुनुवाइमा १० जना वकिलले खाणको प्रतिरक्षामा बहस गर्दा ‘हाइ प्रोफाइल’वकिलहरू भने छुटेका थिए। उनीहरूले आफूले पनि बहस गर्न पाउनुपर्ने भन्दै समय माग गरेपछि न्यायाधीश न्यौपानलेले मन मारेर बुधबारको समय थपेका थिए।

थपिएको समयमा बुधबार खाणको पक्षमा पाँचजना वकिलले बहस गरेका छन्। यसरी बहस गर्ने १५ जनाभित्र तीन पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका अध्यक्षसहित हाई प्रोफाइल वकिल छन्। पूर्व महान्यायाधिवक्तामा खम्मबहादुर खाती, रमणकुमार श्रेष्ठ र महादेवप्रसाद यादव र नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले खाणको प्रतिरक्षा बहस गरेका छन्। यस्तै बारका दुईजना पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रेमबहादुर खड्कासहित सर्वोच्च बारका पूर्वअध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता हरिहर दाहालले पनि खाणको पक्षमा प्रतिरक्षा बहस गरेका छन्। यस्तै बुधबार नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँका वकिलले पनि प्रतिरक्षा बहस गरेका छन्। नागरिक दैनिकबाट

 

 

बिहीबार ३२ जेठ २०८० ०८:२८ AM मा प्रकाशित

प्रतिक्रिया