काठमाडौँ । आइतबार साँझ प्रहरी पुग्दा एमाले सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठस्थित पासिकोटमा रहेको आफन्तको घरमा लुकेर बसेका थिए । वैशाख ३० को साँझ मात्र उनी काठमाडौँ आएका हुन् ।
प्रहरीले पक्राउ गर्दा टोपबहादुर रक्सी खाएर झुम्मिएको अवस्थामा फेला परेका थिए। स्वास्थ्य जाँचका क्रममा उनले मदिरा पिएको पुष्टि भएको छ। उनले डाक्टरलाई एक गिलास बियर खाएको जवाफ दिए। विशेष ब्यूरोले पक्राउ गरेर रायमाझीलाई काठमाडौं परिसरमा बुझाएपछि परिसरबाट राति नै कान्तिपुर अस्पताल तीनकुने लगिएको थियो।
काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेका दिन रायमाझी गृहजिल्ला अर्घाखाँचीमा एउटा कार्यक्रममा सहभागी थिए। कार्यक्रम सकिएपछि उनले काठमाडौंमा गएर अनुसन्धानलाई सघाउने बताएका थिए। उनले प्रहरीलाई फोन गरेर आफू काठमाडौं आउँदै गरेको जानकारी गराएका थिए।
तर उनी फरार भए। फरार भएपछि उनको खोजी गर्न प्रहरी प्रधान कार्यालयबाटै विशेष टोली खटिएको थियो। प्रहरी स्रोतका अनुसार उनी पोखरामा लुकेर बसेका थिए। शनिबार मध्यराति भने उनी काठमाडौं आएर बुढानिलकण्ठमा रहेका नारायण पौडेलको घरमा बसेका थिए।
त्यहाँ रहँदा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ। रायमाझी र पौडेल साथी हुन्। उनी अर्घाखाँचीदेखिकै छिमेकी भएको र उनीहरू सँगै माओवादीमा लागेको पनि स्रोतले बताएको छ। गएराति पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको थियो।
त्यहाँ प्रहरीले उनलाई आउँछु भनेर किन फरार भएको भनेर सोधेका थिए। छोरा सन्दीप पक्राउ परेपछि आफू भागेको रायमाझीले जवाफ दिएका थिए। ‘किन भाग्नुभयो त भनेर सोध्दा छोरा पक्राउ परेपछि मन बिच्कियो अनि भागेको भने,’ स्रोतले भन्यो।
रायमाझीले आफूले एक गिलास मात्रै बियर खाएको जवाफ दिए पनि प्रहरीले भने उनी रक्सीमा झुम्म भएको अवस्थामा रहेको बताएको छ। उनलाई अहिले प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए । शरणार्थी प्रकरणमा सोह्रखुट्टे वृत्तको थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई प्रहरी वृत्त दरबारमार्गमा अड्डासार गरिएको छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा अहिलेसम्म १३ जना पक्राउ परेका छन्। टोपबहादुरका छोरा सन्दीप वैशाख २० गते नै पक्राउ परेका थिए। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ ।
राति बुढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई आज अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने काठमाडौं प्रहरी परिसर स्रोतले बतायो । उनीहरूमाथि संगठित अपराध कसूरमा अनुसन्धान भइरहेको हो। यस कसूरमा ६० दिनमा अनुसन्धान सकेर प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ।
प्रतिक्रिया