×

मन्त्रालय र सरकारी निकाय बिचौलियाकै घेरामा

images

काठमाडौं, जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाले पोल खोल्दा पूर्वमन्त्री र बहालवाला सचिव अहिले जेलमा छन् । शरणार्थी प्रकरणमा बिचौलियासँग मिलेर नक्कली प्रतिवेदन बनाउने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डे बिचौलियाले नै पोल खोलिदिएपछि प्रहरीको फन्दामा परेका हुन् । बिचौलियाले नै मन्त्री र सचिवलाई करोडौं रुपियाँ घुस खुवाएको बयान प्रहरीसमक्ष दिएपछि उनीहरू प्रहरी फन्दामा परेका थिए ।

यस प्रकरणमा मुख्य बिचौलियाको रूपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, पाँचथरका टेक गुरुङ र मोरङकै सागर राईलगायत थिए । उनीहरू पक्राउ परेलगत्तै मन्त्री र सचिवलाई घुस दिएको बताएका थिए । त्यसपछि उनीहरूकै बयान र प्राप्त कागजातका आधारमा प्रहरीले शुरूमा तत्कालीन गृहसचिव पाण्डे र त्यसपछि तत्कालीन गृहमन्त्री खाँणलाई पक्राउ गर्न सफल भएको थियो ।

स्रोतका अनुसार यस प्रकरणमा बिचौलिया तथा उनीहरूलाई काम लगाउने मन्त्री तथा सचिवको जालो नै प्रहरीको फन्दामा परेको छ । यसो त सरकारी निकायमा यस्ता जालाहरू असंख्य रहेको प्रशासनविद्हरूको भनाइ छ । प्रशासनविद् तथा पूर्वसचिव श्यामप्रसाद मैनालीले साना ठूला बिचौलिया र माफियाको कनेक्ससले सिंगो सरकार नै सञ्चालन गरिरहेकाले बिचौलिया प्रथा हटाउन सरकारी निकायमा ठूलै अप्रेसन जरुरी रहेको बताए । ‘नक्कली भुटानी शरणार्थी प्रकरण सानो घटना हो, यस्ता घटना कति छन् कति ? तर खोज्ने कसले ?’ –पूर्वसचिव मैनालीले प्रश्न गरे। भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव पाण्डे आफैंले मन्त्रीका लागि बिचौलियाको भूमिका निर्वाह गरेको देखिएको छ । उनी आफंै पैसा डिल गर्ने कार्यमा उत्रिएपछि बिचौलियाजस्तै बन्न पुगेको प्रहरीका एक अनुसन्धान अधिकृतले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले विभिन्न समयमा गरेको अध्ययनले पनि अधिकांश सरकारी निकाय र त्यहाँका कर्मचारीहरू बिचौलियाको घेरामा रहेको देखाएको छ । अख्तियारले विभिन्न समयमा भ्रष्टाचार मुद्दा दायर गर्दा सरकारी अधिकारीहरू सँगै बिचौलियाहरूलाई पनि मुद्दा दायर गर्दै आइरहेको छ । नेपाल समाचारपत्र दैनिकबाट

सोमबार १ जेठ २०८० ०८:०९ AM मा प्रकाशित

प्रतिक्रिया