×

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्तिले संसदमा नारा लगाए- अध्यक्ष ओली

images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसद टेकबहादुर गुरुङको संसद प्रवेशलाई लिएर प्रश्न उठाएका छन् ।

बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्तिले संसदमा नारा लगाइरहेको टिप्पणी गरे ।

ओलीले आफ्नो सरकार खुस्कियो भनेर नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई चिथोरेको आरोप लगाएका छन् । साथै उनले अब नेपाली कांग्रेसलाई संसद‍्मा बोल्न नदिने चेतावनी समेत दिएका छन् । 

बैठकमा अध्यक्ष ओलीले संसदको महत्त्वपूर्ण समय कांग्रेसको लहडबाजीमा खेर फाल्न नहुने भन्दै बिहीबारदेखि संसद् सुचारु हुनुपर्ने बताए ।  अध्यक्ष ओलीले उपप्रधान तथा गृहमन्त्री लामिछानेको बचाउ गर्दै लामिछानेमाथि आरोप लागेपछि सदनमा बोल्न पाउनुपर्ने पनि बताए ।

कांग्रेस बोल्न पाउने हामी बोल्न नपाउने ? अर्को दिनबाट हामी पनि बोल्ने हो’, ओलीले आक्रोश पोख्दै भने, ‘कांग्रेस बोल्दा हामीले सुनिदिनुपर्ने?’

उनले अब सदनमा कांग्रेसलाई बोल्न नदिने चेतावनी पनि दिए । ‘कांग्रेसलाई अब बोल्न दिइँदैन । पहिले रवि लामिछानेले बोल्न पाउनुप¥यो, होइन भने हामी बोल्छौं,’ ओलीको भनाइ छ । उनले कांग्रेस आरोपित गरिरहने, बकवास बोलिरहने तर अर्काले प्रतिवाद पनि गर्न नपाउने ? भनेर प्रश्न गर्दै यस्तो न डेमोक्रेसी नहुने बताए । ‘यस्तो न डेमोक्रेसी हुन्छ, न संसदीय अभ्यास’, ओलीको भनाइ छ । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित संसद् अवरोध गरिरहेको छ । 

काठमाडौंस्थित भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले गुरुङलाई दोषी ठहर गर्दै जरिवाना गरेको थियो । गत चुनावमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले १२ पुस २०७९ मा निलम्बनमा परेका थिए ।

उक्त मुद्दामा विशेष अदालतले उनलाई १ करोड २१ लाख रुपैयाँ जरिवाना गरेको थियो । फैसलापछि गुरुङले आफ्नो निलम्बनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । १६ चैत २०८० मा न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलसले सांसद गुरुङको निलम्बन फुकुवा गरिदिएको हो ।

सांसद गुरुङलाई संसदमा बस्न नदिएर कांग्रेसले नै निकाल्नुपर्ने एमाले अध्यक्ष ओलीको तर्क छ । अध्यक्ष ओलीले दोहोर्‍याएका छन्, ‘प्रमाणित भ्रष्टाचारीलाई (संसदमा) ल्याएर …. अरु धेरै कुरा म भन्न चाहन्न, कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ, यति भन्छु ।’

 

 

बुधबार १ जेठ २०८१ ०५:४६ PM मा प्रकाशित

प्रतिक्रिया