काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भेटवार्ता भएको छ। भेटका क्रममा सरकारलाई कसरी थप बलियो बनाएर अघि बढ्ने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।
प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता परिवर्तन हुने अभिव्यक्ति दिइरहेका बेला ओली-देउवा भेटलाई बालुवाटरले भने नियमित छलफल भएको बताएका छन्। ‘संयुक्त सरकारका दुई नेताबीचको भेटघाट हुनु स्वभाविक नै हो। उहाँहरूबीच करिव एक घण्टा चलेको छलफलमा सरकारलाई थप कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको छ,’ उनले भने।
पछिल्लो समय सरकार परिवर्तनको हल्ला प्रचण्डको छटपटी मात्र भएको बालुवाटार स्रोतको दाबी छ। यद्यपि, सरकारको कार्यसम्पादनमाथि सत्ता गठबन्धनकै नेताहरूले प्रश्न भने उठाइरहेका छन्।
एक नेताका अनुसार प्रधानमन्त्री ओलीले कांग्रेस–एमालेबीच भएको सहमतिमा तलमाथि नभएको भन्दै सरकार पूरै अवधि जाने विश्वास दिलाएका छन् । प्रधानमन्त्री ओलीले कांग्रेस नेताहरुबाट पनि सरकारको आलोचना सुरु भएको विषयमा पनि धारणा राखेका थिए । ओलीले देउवाले सार्वजनिक रुपमा त परै जाओस आफूसँगको वान टु वान भेटमा पनि सरकारको आलोचना नगरेको बरु राम्रो काम गरेकोमा धन्यवाद ज्ञापन गरेको कुरा स्मरण गराएका थिए ।
ओलीले देउवाले विरोध तथा आलोचना नगरेकोले कांग्रेसमा देउवाबाहेक अरुले आलोचना गर्दैमा केही असर नपर्ने कुरा सम्झाएका थिए । बैठकपछि मिडियालाई प्रतिक्रिया दिने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले पनि प्रचण्डको सरकार ढल्ने अभिव्यक्ति सरकारबाट बाहिरिनुपरेको पीडा र कुण्ठामात्रै भएको भनेर हलुका टिप्पणी गरेका थिए ।
एमाले सचिवालय बैठकको भोलिपल्टै आज कांग्रेस महामन्त्री गगन थापाले अहिलेको सरकारलाई रामराम मात्रै भन्न सकिने भनेर कडा आलोचना गरेका छन् । उनले सरकारले काम गर्न नसकेको र यसको गति ट्रयाक्टरको जस्तो भएको भनेर आलोचना गरेका छन् । कांग्रेस र एमालेबीचको सहकार्यमा समस्या उत्पन्न भएको हो कि भन्ने कुराको संकेत गगनको आजको टिप्पणीले पनि देखाएको छ ।
‘हामीले के ठानेका थियौं भने दुई वटा ठूला ठूला पार्टी मिलेर सरकार बनि सके पछि संविधानमा पनि केही कुरा बदलाव ल्याउने, गभर्नेन्समा व्यापक सुधार गर्ने भनेर ब्यक्तिगत रूपमा त मैले यस पटक केही भूमिका लिनुपर्छ भनेर सरकार बाहिर नै रहे,’ उनले भने, ‘यो सरकार सफल बनाउने, यो सरकारले परिणाम दिने कुराको सन्दर्भमा व्यक्तिगत रूपमा योगदान गर्छु भनेर लागे तर सरकारले सोचे अनुसार गति दिन सकेन।’ सरकारले गियर चेन्ज गरेन भने थप निराशामा जनतामा जाने उनको ठम्याइ छ।
यस्तै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले ३१ चैतमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै नयाँ सरकार बन्ने संकेत गरेका थिए। चितवनमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले नयाँ घटनाक्रम विकसित भएको र आफूले ‘नयाँ अनुभव’का आधारमा यो कुरा गरेको दाबीसमेत गरेका थिए।
‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ। त्यसकारण कुनै पनि सम्भावना छ,’ उनको भनाइ थियो।
त्यसअघि प्रचण्डले एक टेलिभिजन अन्तर्वार्तामा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नसक्ने संकेत गरेका थिए। तर, सत्तारुढ दलका नेताहरूले भने प्रचण्डको उक्त अभिव्यक्तिलाई चलखेल गर्ने दाउ मात्रै भएको दाबी गर्दै आएका छन्।
प्रतिक्रिया