×

नीति र नेतृत्व नफेरिनेमा प्रधानमन्त्री प्रचण्ड ढुक्क

images

काठमाडौ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक समीकरणमा फेरबदल आए पनि सरकारको नीतिमा परिवर्तन नआउने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दोस्रो चौमासिक समीक्षाका लागि मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम नफेरिने जिकिर गर्दै भने– ‘यही सरकारले निरन्तरता पाउनेमा म ढुक्क छु ।

यस बीचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ । तर यसको अर्थ सरकारको नीति फेरिँदैन । सरकारको नेतृत्व तलमाथि हुँदैन । मन्त्रीहरू फेरिनुहुन्छ, तर सरकारको नीतिगत प्राथमिकता फेरिँदैन । कर्मचारी प्रशासनले पनि ती विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्दछ ।’ प्रचण्डले वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने समेत बताए।

कार्यक्रममा उनले राष्ट्रपतिको निर्वाचन सकिएको र उपराष्ट्रपतिको निर्वाचनसमेत चैत्र ३ मा भइसकेपछि मन्त्री परिषद् विस्तारले पूर्णता पाउने जानकारी पनि दिए । सत्ताको जिम्मेवारीमा पु¥याउन सहयोग गरेको नेकपा (एमाले) सहितको गठबन्धनबाट राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा अलगीएसँगै सरकारले विश्वासको मत लिनुपर्ने नैतिक जिम्मेवारी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिको निर्वाचनलगत्तै विश्वासको मत लिने र मन्त्रीपरिषद् विस्तारको कामलाई चाँडै टुंग्याउने सरकारको तयारी रहेको पनि बताए ।

यसैबीच प्रधानमन्त्री दाहालप्रति लक्षित गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीति भनेको गुटबन्दी र जालझेल भएको टिप्पणी गर्दै आठ दलीय गठबन्धन कुनै राजनीतिक गठबन्धन नभएको बताएका छन्। मानवअधिकार एलाइन्सको राष्ट्रिय सम्मेलनलाई सम्बोधनका क्रममा ओलीले देशमा अहिले साँचो अर्थमा लोकतन्त्र नभई जालझेलकै राजनीति भइरहेको बताएका हुन्। नेपाल समाचारपत्र दैनिकबाट

बुधबार १ चैत २०७९ ०७:५४ AM मा प्रकाशित

प्रतिक्रिया