×

बिबिसीले ट्रम्पसँग माग्यो माफी, क्षतिपुर्ति दिन अस्वीकार

images

काठमाडौँ । बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो 'पनोरमा' कार्यक्रमको एक भागको लागि माफी मागेको छ, जसमा ट्रम्पको जनवरी ६, २०२१ को भाषणका केही अंशहरू समावेश थिए ।

यद्यपि, बीबीसीले क्षतिपूर्तिको लागि ट्रम्पको मागलाई अस्वीकार गरेको छ । संस्थाले बिहीबार साँझ आफ्नो 'सुधार र स्पष्टीकरण' खण्डमा प्रकाशित एक विज्ञप्तिमा यो ट्रम्पसँग माफी मागेको छ भने क्षतिपूर्ति दिन अस्वीकार गरेको हो ।

बीबीसीले भिडियो सम्पादनले 'राष्ट्रपति ट्रम्पले प्रत्यक्ष रूपमा हिंसात्मक कारबाहीको लागि आह्वान गरेको गलत धारणा सिर्जना गरेको छ ।' यसबाहेक, बीबीसीले यो कार्यक्रम फेरि प्रसारण नगर्ने घोषणा गरेको छ ।

ट्रम्पका वकिलहरूले बीबीसीले बयान फिर्ता नलिए, माफी मागेन र क्षतिपूर्ति प्रदान नगरेमा १ अर्ब डलर क्षतिपूर्तिको लागि मुद्दा हाल्ने धम्की दिएका छन् ।

यस अघि यस प्रकरणमा आइतबार, बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले विवादको परिणामस्वरूप राजीनामा दिएका थिए । 

ट्रम्पले २०२१ को जनवरी ६ मा वाशिंगटन डीसीमा भाषणमा- 'हामी क्यापिटलमा जाने छौं, र हामी हाम्रा बहादुर सिनेटरहरू, कांग्रेसीहरू र महिलाहरूलाई हौसला प्रदान गर्नेछौं ।' यद्यपि, बिबिसीको पानोरामा वृतचित्रमा सम्पादन गरेर उनलाई यसो भन्दै देखाइएको थियो - 'हामी क्यापिटलमा जानेछौं... र म त्यहाँ तपाईंसँगै हुनेछु । र हामी लड्छौं । हामी ज्यान लगाएर लड्छौं ।'

 

 

शुक्रबार​ २९ कात्तिक २०८२ ०९:१४ AM मा प्रकाशित

प्रतिक्रिया