×

सुन तस्करीसम्बन्धी छानबिन आयोगले प्रतिवेदन बुझायो

images


काठमाडौं । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ । छानबिन आयोगले गृहमन्त्रालयमा बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको छ । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको अवैध सुनबारे आयोगले करिब साढे ५ महिना लामो अध्ययन र जाँचबुझ गरेर प्रतिवेदन तयार गरेको हो ।

मन्त्रिपरिषद्ले असोज १४ मा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गरेको थियो । आयोगको सदस्यमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्वसहसचिव किशोरजंग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी थिए ।

सुरुवातमा तीन महिनाको कार्यावधि दिइएको आयोगका लागि सरकारले गत पुसमा दुई महिना म्याद थप गरेको थियो । थपिएको दुई महिनामा समेत काम पूरा नभएपछि फागुन १४ मा बसेको मन्त्रिपरिषद् बैठकले पुनः फागुन मसान्तसम्म म्याद थप गरेको थियो ।

आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान दायरामा ल्याएका ३३ जनासँग बयान, विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिसँग रायरपरामर्श एवं केही भन्सार क्षेत्रको निरीक्षण र कागजात अध्ययन गरेर प्रतिवेदन तयार पारेको हो । भेप र ब्रेक सुमा लुकाएर ११ महिनाको अवधिमा ३ सय ६३ केजी सुन भित्रिएको पुष्टि सीआईबीले गरिसकेको छ ।

बिहीबार १ चैत २०८० १२:०७ PM मा प्रकाशित

प्रतिक्रिया