×

नेपालसंवतको चान्द्रसौर मैत्री क्यालेण्डरको आवश्यकता

images

सौरमान अनुसारको वर्षमा ३६५ दिन हुन्छ र चान्द्रमानको वर्षमा ३५४ दिन हुन्छ यो सवैलाई थाहा भएको कुरो हो । नेपालसंवतको क्यालेण्डर अव बनाउंदा ३६५ दिन भएको बनाउन जरुरी छ , ३५४ दिन भएको बनाउने होइन । यदि फेरि पनि ३५४ दिन कै क्यालेण्डर बनाइरहने हो भने यो व्यवहार उपयोगी कहिल्यै पनि हुन सक्दैन ।

अहिले बजारमा उपलव्ध भइरहेको नेपालसंवत्को क्यालेण्डर ३५४ दिनको छ । यस वर्षमा मात्र होइन  आज भन्दा पचासौं वर्ष अघि देखि नेपालसंवत्को क्यालेण्डर बन्दै आएको छ । त्यो त केवल देखाउन  को लागि मात्र भयो तर व्यवहार गर्नको लागि भएन भन्ने सिद्ध भइरहेकै छ । सवभन्दा रोचक कुरा त यो छ कि जसले त्यो क्यालेण्डर बनायो उसैले व्यवहार गरेनन् साथै उसैको लागि पनि त्यो उपयोगी बनेको थिएन । तव त्यो कसको लागि बनेको थियो त भन्दा स्पष्टै छ कि त्यो केवल दुनियालाई देखाउनको लागि मात्र बन्यो तर दुनियाले व्यवहार गर्न सकिने गरी बनेको होइन । यसको मुख्य कारण भनेको ३६५ दिनको क्यालेण्डर नबन्नु हो ।

यदि नेपालसंवत्को क्यालेण्डर व्यवहार उपयोगी  बनाउने भए चान्द्रसौर मैत्री क्यालेण्डर बनाउन जरुरी छ । अन्यथा विगतमा जे जस्तो स्थिति थियो त्यही क्रमको निरन्तरता सिवाय अरु हुनेछैन  ।

मैत्री क्यालेण्डरको आवश्यकता
अहिले बनीरहेको नेपालसंवत्को क्यालेण्डर सरकारी कार्यालयको कक्षमा लगेर झुण्ड्याए भने केवल झुण्ड्याउनको लागि मात्र काम लाग्यो व्यवहार गर्नको लागि काम लागेको होइन  । त्यस्तै अरु कार्यालय संस्थान प्राइभेट अफिस, बैंकिंग सहकारी बित्तीय संस्था पसल आदि इत्यादि कहीं पनि काम लागेको देखिएन । हरेकको घरघरमा बेडरुमहरुमा झुण्ड्याएर हेर्नलाई मात्र काम लाग्यो अरुतिर कतै पनि व्यवहार गर्न उपयोगी सिद्ध भइ रहेको छैन । किन त भन्दा त्यसमा ३६५ दिन लाई १२ महिनामा विभाजित  हुनु पर्ने त्यो नभएर नै हो । जव १२ महिना सहितको ३६५ दिन हुंदैन तवसम्म त्यो क्यालेण्डरको प्रयोजन कहीं पनि हुंदैन । 

मानी लिऔं कि नेपालसंवत् ११४४ को क्यालेण्डर जसले बनायो उहीसंग लेनदेनको कारोवार गरियो भने अस्ति कार्तिक २८ गते कारोवार गरेको थियो भने अव कार्तिक १६ गते नै ११४४ को वर्ष सकिन्छ तव १ वर्ष पूरा भयो र वर्ष दिनको व्याज लेउ भन्दा  लिने मान्छे राजी हुन्छ होला तर दिने मान्छे राजी कदापि हुदैन । किनभने दिन गन्तीले एक वर्ष याने ३६५ दिन पूरा भएको हुंदैन । एक वर्ष पूरा हुन २०८० साल कार्तिक २८ गते कार्तिक शुक्ल प्रतिपदा पारु कार्तिक २८ गतेबाट अव आउने २०८१ कार्तिक २७ गते सम्म हुनु पर्यो  र तारिख पनि सन २०२३ नोभेम्वर १४ बाट नोभेम्वर १३ सम्म हुनु पर्यो । कसैलाई एक वर्षको भाका दिनु पर्यो भने त्यो क्यालेण्डरमा  २०८१ कार्तिक २७ गते वा सन २०२४ नोभेम्वर १३ नै छैन । त्यसमा त कार्तिक १७ गतेसम्म मात्र छ , २७ गते नै छैन र तारिख पनि नोभेम्वर २ सम्म मात्र छ १३ पनि छैन ।  तव खुद क्यालेण्डर बनाउने व्यक्तिलाई नै काम लागेन  जव उसैको लागि नै त्यो क्यालेण्डर उपयोगी भएन भने त्यसतो क्यालेण्डर कहाँ लगेर झुण्ड्याउने हो ? जसले बनाएको उसैलाई त काम लाग्दैन भने अरु कसलाई काम लाग्ला ? समस्या यही हो । 

त्यसैले १२ महिना भनौं वा ३६५ दिन भएको क्यालेण्डर कै खोजी हुन जान्छ र ३५४ दिन भएको क्यालेण्डर अगाडि नै छ भने पनि त्यो त उत्नाघडि च्यात्च्युत गरेर फाल्नु पर्ने अवस्था त्यहाँ आउंछ । ३५४ दिनको क्यालेण्डर ल्याएर सरकारी प्रयोगमा ल्याउने भनेर भाषण गर्दैमा पनि हुने कुरो होइन । जव सम्म ३६५ दिन भएको चान्द्र सौर मैत्री क्यालेण्डर बनाउंदैन तव सम्म नेपालसंवत्को क्यालेण्डर कुनै हालतमा उपयोगी बन्नु संभव छैन । 

 मैत्री क्यालेण्डर बनाउनमा बाधक तत्व 
यसमा मुख्य बाधक तत्व भनेकै मान्छेको सोच हो । किनकि इतिहास र इतिहासका स्रोत तिर ध्यान दिएर हेर्ने बानी कतिपय मान्छेमा छँदै छैन । उल्टै उनीहरु नेपालसंवत् चान्द्रमास अनुसार चल्ने संवत् हो भनी बर्बराइ रहन्छन् । अझ फलाना फलाना विद्वान इतिहासकारहरुले नेपालसंवत् भनेको चान्द्रमान अनुसार नै चल्ने संवत् हो भनेका छन् भनी उल्टै जाइलाग्न  बेर छैन । अस्ति नेपालसंवत् नेवारको मात्र संवत् होइन भन्दा नै कतिले म माथि आक्रोस व्यक्त गरेका थिए । उनीहरु मेरो त्यो कुरा देखेर चिढीन थालेका छन् । अझ मान्छेहरुको लवज सुन्दा त चान्द्रमासकै नेपालसंवत्लाई सरकारी प्रयोग गराइकन  छाड्छु भन्न समेत थालेका छन् । नेपालसंवत् लाई चान्द्र सौर मैत्री क्यालेण्डर बनाउनमा त्यही तत्वले विरोध गरी बाधक बन्न नआउला भन्न सकिन्न ।


अब इतिहासका स्रोतहरु तिर दृष्टि लगाऔं
 नेपालसंवत् राष्ट्रिय संवत्को रुपमा जुनवेला प्रचलित थिए । त्योवेला विशुद्ध चान्द्रमान अनुसारको थियो भन्ने जुन किसिमले विश्वास मान्छेले गर्दै आएका थिए । वास्तवमा त्यो कुरा सत्य थिएन ।  यदि साँच्चै नेपालसंवत् चान्द्रमानको संवत् भइदिएको भए त्यसमा संक्रान्तीको उल्लेख किन आइरहेको छ भन्ने अहं प्रश्न खडा हुन्छ । किनकि सौरमानको उपस्थित नभएको भए संक्रान्ती भनेको कदापि उल्लेख आउंदैनथ्यो । त्यही भएर मल्लकालमा नेपालमा नेपालसंवत् चान्द्रसौर मैत्री क्यालेण्डरको व्यवहार थियो भन्ने प्रमाणित हुन्छ । तर गतेको प्रचलन अदृश्य थियो किनकि संक्रान्ती संस्कृति मात्र  विकास भएकोले १२ वटा संक्रान्तीलाई मात्र महत्व दिंइदै आएको थियो भन्ने पनि स्पष्ट हुन्छ  ।


संक्रान्ती भनेको के हो ?
मत्स्यपुराणको अध्याय १८ मा संक्रान्ती व्रतको उल्लेख आइरहेको पाइन्छ । स्मृतिकौस्तुभमा रविसंक्रान्तीको उल्लेख आइरहेको कुरा स्मरण गर्न सकिन्छ । यी शास्त्रका अनुसार सूर्य एक राशिबाट अर्को राशिमा जानु ले संक्रान्तीको संकेत गर्दछ यसलाई अर्काे शव्दमा भन्नु पर्दा त्यो राशि जस्मा सूर्य प्रवेश गर्छ त्यही राशिको संक्रान्ती भनिन्छ । अतः १२ वटा राशिमा सूर्य बस्ने भएकोले १२ वटा संक्रान्ती हुन्छ । कुनैवेला अधिमास परेपनि १२ वटा राशि भएको संक्रान्तीमा कुनै परिवर्तन हुंदैन अतः १२ वटै संक्रान्ती मात्र रही रहन्छ । यी १२ वटा संक्रान्तीमा मकर संक्रान्ती र कर्कट संक्रान्तीलाई अयन संक्रान्ती पनि भनिन्छ । रात्री र दिन बराबर हुने मेष संक्रान्ती र तुला संक्रान्तीलाई विषुव संक्रान्ती भनिन्छ । मिथुन,कन्या,धनु र मीन संक्रान्तीलाई षडशीति मुख संक्रान्ती भनिन्छ भने वृष,सिंह,वृश्चिक र कुम्भ संक्रान्तीलाई विष्णुपदी संक्रान्ती पनि भनिन्छ । 

मकर संक्रान्ती भन्नाले माघे संक्रान्ती त्योवेला सूर्यले धनु राशि छोडेर मकरमा प्रवेश गर्ने भएकोले यो संक्रान्ती लाई मकर संक्रान्ती भनेको हो  । यस्तै यी १२ वटै संक्रान्तीको आआफनै महत्व र पर्वसंस्कृति सनातन देखि चल्दै आएको दृष्टान्त नै छन् । चन्द्र ग्रहण र सूर्यग्रहण उल्लेख भएका अरु थुप्रै अभिलेखहरु पनि पाइन्छन् । त्योवेला नेपालसंवत् व्यवहार भइरहेको वेलामा चान्द्र सौर मैत्री क्यालेण्डर नभइकन ग्रहणको गणना संभव हुंदैन । यो पक्षलाई नेपालसंवत्को क्यालेण्डर बनाउंदै आउनेहरुले एक रत्ती पनि ध्यान दिइएको छैन  । यसको लागि अभिलेख उदाहरण प्रमाण थुप्रै रहेका मध्ये केही यसप्रकार छन् ।  


  संक्रान्ती उल्लेख भएका केही अभिलेखहरु
१. चापागाउं अम्वरदुरुखेलको अभिलेख
...........नेपारहायनयोतक शरशैलपौषे शुकलद्वादशि प्र त्रदसिगुरुदिने............मक्रसंक्रान्तौ तववि उत्रायनसंक्रमना.................संवत् ७५९..........
(मध्यकालका अभिलेख ४१५)
२. मंगलवजार भाइदेवलको अभिलेख

...........दानपत्रस चोस्यं तक्व अविछिन्न याड्डन दयकं पूजा कायमाल संक्रान्ति प्रति पञ्चामृत दयके माला ।। 
(मध्यकालका अभिलेख पृष्ठ १९८)
३. चापागाउं वज्रवाराही देवलको अभिलेख

सम्वत् ८१९  पौषमासे.......दसिन्दिनै मकरसंक्रको पव्र्वणिदातृ श्री चम्पापुरी स्थाने.........
(मध्यकालका अभिलेखपृष्ठ ३१७)

४. पाटन छुपाटोल चिवहाल सिंढीमा रहेको अभिलेख
.....सम्वत् ८३७ भाद्र पद शुक्ल ।। अष्ठम्यान्तिथौ ।। मूलानक्षत्रे ।। आयुष्मान योगे ।। यथाकरण मुहत्तके ।। सोमवासरे कन्यारासि गते सवितरि - धनुरासिगते चन्द्रमसि ।। अस्मिन्कन्यसंक्रान्ति यव दिने.................
( मध्यकालका अभिलेख, पृष्ठ ४११)
५.कीर्तिपुर बाघभैरवको ताम्रपत्र अभिलेख

........सम्वत् ७८२ पौषमासे कृष्णपक्षे चतुथ्यायां तिथौ मघनक्षत्रे शौभाग्ययोगे आदितेवासरे थ्व कुन्हु महासंक्रान्ति महापव्र्वदिने.......
(मध्यकालका अभिलेख ,पृष्ठ ५६७)
ग्रहण उल्लेख भएका अभिलेखहरु
१.मातातीर्थ शिवमन्दिरको अभिलेख

.....सम्वत् ७८७ आषाढमास्ये कृष्णपक्षः ।। अमावास्यां तिथौै ।। प्वक्षनक्षत्रे ।। व्यतिपात जोगे ।। अंगारवासरे । थ्व कुन्हु श्रीसुजग्रास महापर्व दिने .......
(    मध्यकालका अभिलेख पृष्ठ १४७)
२. फर्पिड्ड भगिरथ भैयाको अभिलेख

............सम्वत् ८०३ माघशुक्ल पूर्णमास्यान्तिथौ अश्लेषानक्षत्र शोभनयोगे  बृहस्पतिवासरे चन्द्रग्रासमहाापव्र्वणि........
(मध्यकालका अभिलेख पृष्ठ २३६)
३.पाटन थ्ववहाल गणेश देवलको अभिलेख

........सम्वत् ८१७ चेत्रकृष्ण अमावास्यान्तिथौ ।। अश्विणीनक्षत्र ।। प्रीतियोगे आदित्यवासरे ।। थ्वकुन्हु  श्री ३सूर्यग्रासपव्र्वदिन........
(मध्यकालका अभिलेख पृष्ठ२९४)
४. पाटन खोकना लाछिटोलको अभिलेख

......श्री नेपार सम्वत्सरे ८७९ माग्गशिर कृष्ण ।। अमावास्यान्तिथौ ।। पूर्वाषाढाानक्षत्रे।। ध्रुवयोगे ।। शनैश्चवासरे ।। तस्मिं श्रीश्री सूय्र्यग्रास महापर्वदिने ।। 
(मध्यकालका अभिलेख पृष्ठ ४५३)
५पाटन यकछें दगुवहालको अभिलेख

..........सम्वत् ८८५ फाल्गुण शुक्ल पुण्र्णमासि श्रीचन्द्रग्रास पर्वदिने..........
(मध्यकालका अभिलेख, पृष्ठ ४६५)
यी अभिलेख प्रमाण यति मै सीमित छैन । खोज्दै गए भने यस्ता अभिलेख प्रमाण अरु पनि अनगिन्ती मात्रामा पाइन्छन् । यसरी अनगिन्ती मात्रामा छन् भने पनि एउटै प्रमाण पनि काफी मानिन्छ । त्यसकारण यी प्रमाणलाई वास्तै नगरी जहिलेपनि नेपालसंवत् चान्द्रमानको वर्ष हो यसमा ३५४ दिन मात्रै हुन्छ त्यही भएर यो अव्यावहारिक भएको हो । यो नेवारको मात्रै संवत् हो । यो शंखधरले देशको नाम राखेर चलाएको हो । यो ऋण मुक्त संवत् हो । यो संवत् चलाउन वालुवा सुनमा परिणत भएर नै हो जस्ता नानाभाँतिका कुरा मात्र समातेर बसेर हुंदैन । वंशावलीमा लेखी दिएको कुरा मात्र इतिहास हो । अरु यस्ता अभिलेखीय स्रोत इतिहास होइन भन्दै यसता स्रोतलाई कदापि इतिहास मान्न सक्दिन भनेर मात्र बस्नु बुद्धिमत्ता होइन ।  

 उपसंहार
मध्यकालमा नेपालमण्डल काठमाडौं उपत्यकामा नेपालसंवत् राष्ट्रिय संवत्को रुपमा व्यवहृत थिए भने उपत्यका भन्दा बाहिर लिच्छविकालमा चलेको नेपालसंवत् संग ८०२ वर्ष फरक भएको लिच्छविसंवत् नै व्यवहृत भइरहे । ती ८०२ वर्ष व्यवहार भएको संवत्मा अनेकोैं विवाद खडा गरी दिएको कारणले १ देखि उठान भएको अर्को नयाँ संवत्को आवश्यकताले गर्दा नेपालसंवत्को जन्म भयो भनौं वा उदय भयो भनौं कुरा एउटै हो ।

यसरी उदय भएको नेपालसंवत्मा कुनै प्रकारको विवाद समस्या आउनु नपर्ने हो । तर मान्छेहरुले त्यसमा पनि अनेकौं भ्रामक कुरा सिर्जना गरी यस संवत्लाई  विवादग्रष्टको खाडल तिर धकेली नै दिए ।  त्यही भ्रामक खाडल भित्र जकडेर बस्नु पर्ने अवस्था अहिलेको बर्तमान अवस्था हो भनौं अथवा बिवशता  भनौं कुरा एउटै हो  । अव त्यही भ्रामक घेरा तोडेर बाहिर निस्कनु परेको छ । कतिपय मान्छेहरुलाई ती भ्रामक घेरा भित्रै रमाएर बस्नमा आदत बसी सकेको हुंदा तिनीहरु त्यही अलमलेर नै बस्न रुचाइ रहेको देखिन्छ । तर सबैजना सधै त्यहीं अलमलेर चाहीं बस्दैनन् । यो लेख त्यही समूह जो छ उनीहरु त्यो घेरा तोडेर आउन चाहनेहरुको लागि मात्र लक्षित गरिएको छ ।

केही वर्ष अघि देखि नेपालसंवत्लाई राष्ट्रिय मान्यता पनि दिइसकेका छन् र सरकारले बारम्वार आह्वान नै गर्दै आएका छन् कि नेपालसंवत्लाई व्यवहारोपयोगी क्यालेण्डर बनाएर ल्याउनु पनि भनी रहेका छन् । तर त्यस्तो क्यालेण्डर बनाउन सकेको होइन । सकोस् पनि कसरी? दिमागमा खाली भ्रमको घोल नै जमेर बसेको छ । त्यो भ्रमको घोल फाले पछि मात्र संभव हुने देखिएको छ । 

जव सम्म भ्रमको घोल दिमागमा घुलीरहन्छ उनीहरुले महिनाको नाम बैशाख जेष्ठ आषाढ भन्यो भने त्यो त विक्रमसंवत्को हो नि भनेर देख्ने भयो ।  गतेको कुरा ल्यायो भनेपनि त्यो त विक्रमसंवत्को पो हो त भनेर देख्ने भयो । केही वर्ष यता देखि गते पनि लेखेर तिथिको नेपालसंवत्को क्यालेण्डर  बनाई प्रकाशित हुंदै आएको छ । हुनत नेपालसंवत्को क्यालेण्डर यही हो भनेर प्रस्तुत पनि गरीसकेको होलान् । तर व्यवहारोपयोगी क्यालेण्डर ठहराउन सकेको होइन ।

आखीरमा आएर कुरा ठोकिन आउंछ कि नेपालसंवत्को क्यालेण्डर पनि ३६५ दिन लाई १२ महिनामा विभाजित भएको क्यालेण्डर नै चाहियो भन्ने मै ठोकिन्छ । नेपालसंवत्को क्यालेण्डर त चान्द्रमास अनुसारको मात्र बनाउंदै आएको छ । चान्द्रमास भनेपछि त्यसमा ३५४ दिन मात्र हुन्छ । अव चाह्यो भन्दैमा ३५४ को तिथिलाई तन्काएर ३६५ को बनाउन सकिने पनि कसैको तागत भित्र पर्ने कुरा होइन । 
हुनत अहिले बनेको क्यालेण्डरहरु हेर्दा त्यसमा गतेको पनि उल्लेख गरिएका छन् ।  तर गते पनि लेख्दैमा समस्या समाधान भएको छैन । समाधान तव मात्र हुनसक्छ जव नेपालसंवत्को क्यालेण्डर ३६५ दिन भएको चान्द्रसौर मैत्री भयो भने मात्र संभव हुन्छ । 

इतिहासको स्रोत तिर फर्केर हे¥यौं भने मध्यकालमा पनि नेपालसंवत् ३५४ दिनको वर्ष होइन ३६५ दिन भएकै वर्ष हो भन्ने कुरा प्रमाणले सिद्ध गर्छ । जुनवेला विक्रमसंवत्को कुनै गुञ्जाइस नै आएको थिएन त्योवेला नै महिनाको नाम कार्तिक मंसिर पौष भएर महिनाको व्यवहार भइरहेको तथ्य अभिलेखहरु नियालेर हेर्दैमा थाहा हुने कुरो हो । त्योवेला मेष संक्रान्ती भनिन्थ्यो भने अहिले वैशाख संक्रान्ती भन्ने गर्छ त्यतिमात्र हो । त्योवला संक्रान्ती पर्वलाई मात्र महत्व दिएकोले १२ वटा संक्रान्तीको नाम मात्र चर्चा गरे २ गते ३ गते गरेर व्यवहार गरिएन त्यत्ति मात्र फरक हो ।

तर दुइवटा संक्रान्तीको बीचमा गते थिए भन्ने कुरा स्वतः सिद्ध हुन्छ । जुनवेला नेपालसंवत्को व्यवहार थिए त्योवला ग्रहणको गणना हुनु, संक्रान्तीको गणना हुनुले नेपालसंवत् विशुद्ध चान्द्रमास मात्र हो भनी ठान्नु सर्वात्मना भूल सिवाय अरु भएको होइन । त्योवेला पनि नेपालसंवत्को क्यालेण्डर चान्द्र सौर मैत्री नै थियो भने अहिलेको क्यालेण्डर पनि चान्द्र सौर मैत्री नै हुनुपर्‍यो  र यो अत्यन्त जरुरी भएको छ  । मेरो विचारमा यस मामलामा  अझै पनि आनाकानी गरिरहनु जरुरी छैन । अव यथासंभव नेपालसंवत्को क्यालेण्डरलाई संशोधन गरी ३६५ दिन भएको १२ महिनामा विभाजित भएको चान्द्र सौर मैत्री क्यालेण्डर  तयार गरी व्यवहारमा ल्याउने तिर सोचको विकास गरौं । यो नै वर्तमान युगको माग हो ।

श्यामसुन्दर राजवंशी
लिपिविद् एवं इतिहासविद्

 

बुधबार २७ मंसिर २०८० १२:५६ PM मा प्रकाशित

प्रतिक्रिया