×

नेता घरदैलोमा, कालापहाड जाँदै मतदाता

images

बाँके। प्युठानका राजबहादुर जिसीको गाउँघरमा चुनावी सरगर्मी बढ्दो छ। दलहरू दैलोदैलोमा पुगेर मत मागिरहेका छन्।

राजबहादुरकै घरमा उम्मेदवारहरू पटकपटक पुगिसके। उनलाई यसपालिको निर्वाचनमा सहभागी हुन मन छ तर मतदानको दिनसम्म बस्न सक्ने अवस्था छैन।

कारण, ‘गरिबी’। दसैंतिहार मनाउन आएका उनी मन अमिलो बनाउँदै निर्वाचनमा सहभागी नभई बिहीबार नेपालगन्जस्थित जमुनाह नाका हुँदै रोजगारीका लागि भारत हानिए।

‘चुनावसम्म बस्ने मन थियो तर सकिएन,’ निर्वाचनमा सहभागी हुन नपाउँदा दुःख व्यक्त गर्दै उनले भने, ‘कमाइ गरेर ल्याएको पैसा दसैंतिहारमा सकियो। घरमा परिवार पाल्न बाँकी पैसा छैन। घरपरिवार भोकै राखेर निर्वाचन कुर्न सकेन।’

गरिबीले गर्दा चुनाव छाडेर भारतीय सहर जान लागेको रोल्पाका कर्मसिंह बुढाले बताए। ‘यतै रोजगारी भएको भए कामका लागि भारत जानुपर्ने थिएन,’ उनले भने, ‘यहाँ बसेर परिवार पाल्नै समस्या हुन्छ।’

कमाइभन्दा उल्टै ऋण लाग्ने भन्दै उनले चुनावको मुखैमा भारत जानु रहर नभई बाध्यता भएको बताए। प्रतिनिधि तथा प्रदेशसभा सदस्यका उम्मेदवारले गाउँगाउँमा रोजगारी दिने घोषणापत्र सार्वजनिक गरेका छन्।

यो घोषणा नयाँ होइन, यसभन्दा अघिल्ला निर्वाचनमा पनि उनीहरूले महत्वका साथ चुनावी अजेन्डा बनाए। नत यी घोषणापत्रका आडमा जितेका जनप्रतिनिधिले रोजगारी सिर्जना गर्न सके न चुनावसम्मै अहिलेका उम्मेदवारले मतदातालाई रोक्न सके।

अहिले पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाबाट कामको खोजीमा भारत जानेको संख्या सीमामा बढ्दो छ।

नेपालगन्जस्थित जमुनाह नाकाबाट करिब दैनिक तीनदेखि पाँच हजार नेपाली भारत बाहिने गरेका आजको नागरिक दैनिकमा खवर छ ।

आइतबार​ २७ कात्तिक २०७९ ०९:४९ AM मा प्रकाशित

प्रतिक्रिया