×

व्यक्तिगत प्रयासमा युएई जाने बढे

images

काठमाडौं। नेपालबाट दैनिक सयौं युवा रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै मलेसिया जाने गरेको एक तथ्यांकले देखाएको छ।

वैदेशिक रोजगार विभागका अनुसार विगत ५ महिनामा (गत बैशाखदेखि भदौसम्म) १ लाख ६९ हजार ६ सय ९३ जना विदेश गएका छन्। तीमध्ये मलेसिया जानेको संख्या ८० हजार ८ सय २३ जना रहेको छ। बैशाखमा मलेसिया जानेको संख्या २ हजार ५ सय ३८ जना, जेठमा ७ हजार १ सय ४१, असारमा १५ हजार ७ सय ८०, साउनमा २२ हजार ३ सय ६१ र भदौमा ३३ हजार ३ जना गएका छन्।

केही वर्ष पहिले साउदी अरब जानेको संख्या अत्यधिक मात्रामा बढेको थियो भने अहिले मलेसिया जानेको संख्या उच्च स्थानमा रहेको वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसालले बताए। दिन प्रतिदिन नेपालीहरू वैदेशिक रोजगारीको खोजी गर्दै मलेसिया जानेको संख्या बढिरहेको उनले बताए।

विभागको तथ्याङ्क अनुसार बैसाखदेखि भदौसम्ममा मलेसिया पछि साउदी अरब जानेको संख्या २२ हजार ७ सय ८९ रहेको छ। त्यस्तै गरी कतारमा २० हजार ६ सय ३२, कुवेतमा १७ हजार ३ सय ६२ जना र युएईमा १४ हजार ८ सय १ जना वैदेशिक रोजगारीको क्रममा गएको तथ्याङ्क छ। गत आर्थिक वर्षको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नेपाली मजदुरका रूपमा गएको देखिन्छ।

त्यसैगरी सरसफाइ गर्ने कामदार, कारखानाका कामदार, घरेलु कामदार, निर्माण क्षेत्रका कामदार र सुरक्षागार्डका रूपमा पनि धेरै नेपाली विदेश जाने गरेका भुसालले बताए। म्यानपावरमार्फत् नभई व्यक्तिगत प्रयासमा विदेश जानेमा वेटर, भान्से, र परामर्शदाता लगायतका श्रमिक रहेको तथ्याङ्कले देखाउँछ। पछिल्लो समयमा सबैभन्दा बढी वैदेशिक रोजगारीका लागि व्यक्तिगत प्रयासमा युएई जाने गरेको तथ्याङ्क छ। नागरिक दैनिकबाट

आइतबार​ २७ कात्तिक २०७९ ०८:३६ AM मा प्रकाशित

प्रतिक्रिया