×

चाडपर्वमा सडकमा कोही पनि बस्नुपर्दैन भन्ने सुन्दा सन्तोष मिलेको छ : प्रधानमन्त्री

images

काठमाडौँ, २६ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वमा कोही व्यक्ति सडकमा बस्नु नपरोस् भनेर मानव सेवा आश्रमले आजदेखि सुरु गरेको मेची महाकाली उद्धार अभियानले आफूलाई निकै सन्तोष मिलेको बताउनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मेची महाकाली उद्धार अभियानमा सरिक आश्रमका अभियन्ताहरुलाई विदाई गर्नुहुँदै प्रधानमन्त्री दाहालले यो अभियानले आफूलाई हर्षित तुल्याएको र चाडपर्वका बेलामा अब असहायलाई सडकबाट उद्धार गरी आश्रय दिनु महत्वपूर्ण विषय भएको बताउनुभयो । 

राजनीतिक दबाब र तनावपूर्ण चुनौती मात्रै नभइ समाजसेवा झन बढी महत्वपूर्ण रहेको अनुभूति गर्ने अवसर यो कार्यक्रमले आफूलाई दिएको उल्लेख गर्दै उहाँले आश्रमको महत्व थाहा पाएसँगै सरकारका तर्फबाट सहयोग गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आउँदो दिनमा राज्यकोतर्फबाट पनि अझै धेरै जिम्मेवारी लिनुपर्छ भन्ने मैले ठानेको छु, नेपालमा मानवसेवा र सामाजिक सेवाका निम्ति संकल्पका साथ लाग्ने व्यक्तिको कमी छैन भन्ने कुरा आश्रमले स्थापित गरेको छ, बधाई दिन चाहन्छु ।” उहाँले मेची महाकाली यात्रा पूर्ण सफलताको शुभकामना पनि दिनुभयो । 

सो अवसरमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अत्यन्तै कठिन अवस्थामा रहेका दाजुभाई दिदीबहीनी आमाबुबा र बालबालिकालाई आश्रमले संरक्षण गरिरहेकोमा प्रशंसा गर्नुभयो । 

मुलुकभित्र जति पनि सकारात्मक काम भइरहेका छन् ती सबैलाई जोडेर सामाजिक, आर्थिक रुपान्तरणसहित उन्नतशील राष्ट्र बनाउने अभियानमा सरकारले जोड दिइरहेको उहाँको भनाइ थियो । यस अभियान सफल बनाउनका लागि सरकार आवश्यक सहयोग रहने प्रतिबद्धता पनि जनाउनुभयो ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडीले) आश्रमले गरेको पुण्य कामको शब्दमा बयान गर्न नसकिने बताउनुभयो । सो क्रममा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले देशका १९ जिल्लाका २४ शाखामा हाल एक हजार  छ सय सहयोगापेक्षी आश्रित रहेको जानकारी दिनुभयो । 

आज प्रधानमन्त्री कार्यालयबाट बिदाइ भएका मेची महाकाली उद्धार अभियानमा सहभागी ३८ जना अभियन्ताले भोलि मेची पुलबाट उद्धार थाल्ने उहाँले जानकारी दिनुभयो । 

कूल ३८ दिनसम्ममा तीन सयभन्दा बढी सडक आश्रित मानवलाई उद्धार गर्ने योजना छ । यसअघि पनि आश्रमले मेची महाकाली अभियान चलाइसकेको छ । आश्रमले विसं २०८२ सम्म देशलाई नै सडक मानव मुक्त बनाउने सङ्कल्प लिएको छ । 

शुक्रबार​ २६ असोज २०८० ०९:१३ PM मा प्रकाशित

प्रतिक्रिया