×

भारतमा मजदुरी गर्नेहरु भन्छन्, ‘दसैँमा घर गए गुजारा कसरी गर्नु ?’

images

नैनीताल (भारत), २६ असोज : कालीकोटको खिना घर भएका दानसिंह विक दसैँको मुखमा भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोग्दै गरेको अवस्थामा भेटिनुभयो । उहाँ नैनीतालमा यसरी बोक्न थालेको १८ वर्ष भयो । विक  साँझ बिहान नैनीतालस्थित एउटा होटलको नर्सरीमा काम गर्नुहुन्छ । यसबाहेकको बाँकी समय भारी बोक्नुहुन्छ । 

“भारी बोकेरै घरको खर्च धानेको छु, यो नगरे घरमा सबै ठप्प हुन्छ”, ४७ वर्षीय विकले भन्नुभयो । उहाँ केही दिनअघि मात्रै कालिकोट गएर नैनीताल काममा फर्किनु भएको हो । “घरमा छोरो बिरामी भएको खबर आयो, उपचारका लागि खर्च लगेर गए, अब घर ढिलै जान्छु, दसैँमा गइन्न ।” 

नैनीतालमा मजदुरी गरेर विकले मासिक रु ३० हजारसम्म कमाउनुहुन्छ ।  “स्वदेशमै काम पाएको भए विदेश आउन मन थिएन, काम पाइहाले पनि उचित  ज्याला पाइँदैन”, उहाँले भन्नुभयो–““यहाँ दुखः गरे अनुसारको पारिश्रमिक पाइन्छ ।” 

 नैनीताललाई सुन्दर बनाउन धेरै नेपाली मजदुरको मेहेनत छ । नैनीतालको तल्ली र मल्ली ताल क्षेत्रमा सयौँ नेपाली मजदुर दिनरात भारी बोक्दै गरेको अवस्थामा भेटिन्छन् । कोही होटल त कतिपय स्थानीय साहुमहाजनको घरमा काम गरेर जीविका चलाउँदै आएका छन् । पछिल्लो समय सडक पेटीमा पसल सञ्चालन गर्ने नेपालीको सङ्ख्या बढ्दै गएको छ । नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैँको मुखमा समेत मजदुरी गर्नेको सङ्ख्या उत्तिक्कै छ । 

“दसैँमा घर परिवारसित बसेर पर्व मनाउने इच्छा कसको हुन्न र ?” कैलालीको घोडाघोडी नगरपालिका–२ का १८ वर्षीय रमेश रावतले भन्नुभयो, “दसैँमा घर गए बाँकी समय गुजारा कसरी गर्नु ?” नैनीतालकै कमाइले घर परिवारको खर्च चलाएको उहाँको भनाइ छ । 

राजनीतिक परिवर्तन भएपनि स्वदेशमै रोजगारीका सम्भावना नदेखिनु दुःखद् भएको रावतको भनाइ छ । उहाँ कक्षा १२ कक्षाको परीक्षा दिएर मजदुरी गर्न नैनीताल आउनुभएको हो । रावतका बुबा पनि यतै मजदुरी गर्नुहुन्छ । बुबाको साथले उहाँलाई मदजुरी गर्न सहज भएको छ । “घरको परिस्थितिका कारण बुवासित यहाँ आए, धेरैभन्दा धेरै भारी बोकेर खर्चको जोहो गर्नु हाम्रो नियति नै बनिसक्यो”, रावतले भन्नुभयो । 

दसैँ तिहारमा कतिपय नेपाली घर जाँदा सो समयमा भारी बोक्ने काम बढी पाइने आशामा रावत बाबु–छोरा यसपाली नैनीतालमा बसेका छन् । यहाँ नेपाली मजदुर घरघरमा गएर तरकारी बेच्ने तथा होटलमा भाँडावर्तन सफा गर्ने काममा  बढीजसो खटिने गरेका छन् । चारैतिर पहाड अनी बीचमा आकर्षक नैनीताल अवस्थित छ । कोरोना महामारीमा सुनसान बनेको नैनीतालमा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । योसँगै नेपालीले पनि काम गर्ने अवसर पाएका छन् । 

नैनीताल, खुर्पा ताल, भीम ताललगायत क्षेत्रमा झण्डै पाँच सयको हाराहारीमा नेपाली कार्यरत छन् । नैनीताल क्षेत्रमा सिमेन्ट, छड, तरकारी, ग्यास सिलिण्डरलगायत अन्य घरायसी सामान ढुवानी गर्नमा उनीहरु दिनरात व्यस्त देखिन्छन् । दुरी तथा तौलका हिसाबले उनीहरुलाई पारिश्रमिक दिइन्छ ।  

“नेपाली नागरिक इमान्दार भएर लामो समयदेखि काम गर्दैआएका छन्”, नैनीतालका एक होटल व्यवसायीले भन्नुभयो, “होटलमा तरकारी बोक्नेदेखि घर घरमा ग्यास पु¥याउने काममा नेपालीको ठूलो साथ र सहयोग छ ।”

बझाङ्गको तलकोटका नवराज विष्ट दसैँका लागि घरमा सरसामान पठाए पनि आफू भने नजाने मनस्थितीमा हुनुहुन्छ । उहाँले भारी बोक्न थालेको झण्डै डेढ दशक भयो । होटलमा तरकारीको भारी बिसाउँदै गरेका विष्टले भन्नुभयो– “यहाँको कमाइले घरखर्च चलाउन सहज भएको छ ।”

परिवारको पालनपोषण नैनीतालको भारी बोकाइले चल्दै आएकाले चाडपर्वको खासै महत्व नहुने उहाँ बताउनुहुन्छ । “ताकत हुँदासम्म भारी बोक्ने हो, त्यसपछि घर जानु त छँदै छ”, विष्टले भन्नुभयो । 

कालिकोटको खानीत्रिवेणीका ५६ वर्षीय शेरबहादुर विकले भने नैनीतालमा भारी बोकेर कमाएको पैसाले छोरा जीवनलाई काठमाडौँमा लोकसेवाको तयारी गराउँदै हुनुहुन्छ । “छोरा पढाउन लाखौँ ऋण काढेको छु, दसैँ सम्झेर घर जाने अवस्था छैन, घर गए सब चौपट हुन्छ”, उहाँले भन्नुभयो–“छोरो जागिरे होला र बुढेकासलमा घरमा सुखका साथ बस्न पाइला भन्ने आशामा भारी बोक्दै छु ।”

मुख्यतया सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक यहाँ रोजगारीका लागि आउने गरेका छन् । उनीहरुका लागि नैनीताल रोजगारीको प्रमुख गन्तव्य हो । बाजे, बुबादेखि नातीसम्मको पुस्ता यहाँ एकसाथ भारी बोक्ने गरेको पाइन्छ । यहाँ मजदुरी गर्ने अधिकांश नेपालीले आफ्नो कमाइ छोरा छोरीको पढाइमा खर्चिदै आएका छन् । 

शुक्रबार​ २६ असोज २०८० ०९:११ PM मा प्रकाशित

प्रतिक्रिया