×

कृष्णभीरमा नयाँ ट्र्याकको सफल परीक्षण: ग्यास बुलेट त पार भए, तर दुईतर्फी चल्न बिहीबारसम्म कुर्नुपर्ने

images

काठमाडौँ, भदौ २८-त्रिशूली नदीमा आएको बाढी र कटानका कारण विगत दुई हप्तादेखि ठप्प रहेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्ड आइतबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ। सडकको भासिएको भागभन्दा केही माथिल्लो क्षेत्रको भित्तो काटेर २५२ मिटर लामो नयाँ वैकल्पिक ट्र्याक तयार पारिएपछि झन्डै १४ दिनदेखि रोकिएका ग्यास बुलेट र हेभी सवारी साधनहरूलाई पहिलो पटक परीक्षणका रूपमा पास गराइएको हो। 

सडकको भारवहन क्षमता परीक्षण गर्न सुरुमा काठमाडौँबाट चितवनतर्फ खाली ग्यास बुलेट गुडाइएको थियो। त्यो सफल भएपछि काठमाडौँ र चितवन दुवैतर्फ रोकिएका करिब २० वटा मालवाहक तथा हेभी सवारी साधनहरूलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ।

सडक आंशिक रूपमा खुले पनि तत्कालै नियमित यातायात भने सञ्चालन नहुने सडक विभागले स्पष्ट पारेको छ। नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीका अनुसार अहिलेको आवागमन नियमित सञ्चालनका लागि नभई केवल नयाँ ट्र्याकको क्षमता परीक्षण गर्नका लागि मात्र खुला गरिएको हो। 

योजना प्रमुख अधिकारीले भनिन्, "सडक सबग्रेड तहसम्म तयार भएपछि ग्यास बुलेट पार गर्न सक्छ कि सक्दैन भनेर हामीले परीक्षण गरेका हौँ, जसमा बुलेटहरू सफलतापूर्वक पार भएका छन्। तर, सडकमा ड्रेन (नाला), सब–सर्फेस ड्रेन, ग्राभेलिङ तथा सबबेसको केही प्राविधिक कामहरू अझै पूरा गर्न बाँकी नै छ।" मौसमले साथ दिएमा आगामी दुई-तीन दिनभित्र बाँकी निर्माण कार्य सम्पन्न गरी आगामी बिहीबार (असोज १ गते) देखि कृष्णभीरमा नियमित रूपमा दुईतर्फी यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिइन्।

कृष्णभीर खण्ड ठप्प हुँदा सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यास (LPG) को चरम अभाव चुलिएको छ। काठमाडौँ उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यासको माग रहे पनि राजमार्ग अवरुद्ध हुँदा तराईका बोटलिङ प्लान्टबाट मागको तुलनामा निकै कम सिलिन्डर मात्र उपत्यका भित्रिरहेका छन्। नेपाल आयल निगमले तराईका बारा, पर्सा र चितवनका प्लान्टहरूबाट वैकल्पिक मार्ग (कान्ति लोकपथ र बीपी राजमार्ग) हुँदै ग्यास सिलिन्डर ढुवानी गर्ने प्रयास गरे पनि ठूला बुलेटहरू वैकल्पिक बाटोमा छिर्न नसक्दा आपूर्ति व्यवस्था नराम्ररी प्रभावित भएको हो। 

बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरी उद्योगी तथा खुद्रा विक्रेताहरूले सिलिन्डरको मूल्यमा थप शुल्क असुल्ने र पुराना सिलिन्डर साट्न अस्वीकार गर्ने जस्ता उपभोक्ता विरोधी गतिविधि गरिरहेको गुनासो बढेको छ। उपभोक्ता अधिकारवादीहरूले यसलाई 'सङ्गठित अपराध' को सङ्ज्ञा दिँदै सरकारलाई तत्काल विपद् व्यवस्थापन ऐन प्रयोग गरी ग्यास वितरण प्रणाली नियन्त्रणमा लिन माग गरेका छन्। काठमाडौँ जिल्ला प्रशासनले ग्यास लुकाउने वा बढी मूल्य लिने खुद्रा व्यापारीलाई कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ। 

आइतबारदेखि कृष्णभीरको नयाँ ट्र्याकबाट ग्यास बुलेटहरू सिधै उपत्यका छिर्न थालेपछि रोकिएका हजारौँ सिलिन्डर ग्यास बजारमा आउने र चाडबाडको मुखमा देखिएको यो ग्यास सङ्कट क्रमशः समाधान हुने विश्वास लिइएको छ। 

आइतबार​ २८ भदौ २०८३ ०८:४९ PM मा प्रकाशित

प्रतिक्रिया