काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मुख्य नेतृत्व (कोर टिम) ले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउन भित्रभित्रै ठूलो षड्यन्त्रको तानाबाना बुनिरहेको गम्भीर आरोप लगाएका छन् ।
वर्तमान सत्ता गठबन्धन र दुई तिहाइको शक्तिशाली सरकारलाई बाहिरका अन्य राजनीतिक दलहरूबाट कुनै खतरा नरहेको दाबी गर्दै अध्यक्ष साहले सरकारलाई रास्वपाभित्रैबाट लाचार र शक्तिहीन बनाउने खेल भइरहेको टिप्पणी गरे ।
'रवि, स्वर्णिम र डीपीको विशेष मोर्चाबन्दी'
अध्यक्ष साहले रास्वपाका सभापति रवि लामिछाने, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले प्रधानमन्त्री शाहलाई असफल बनाउने गरी गोप्य मोर्चाबन्दी कसेको दाबी गरे । पछिल्लो समय मुलुकमा विपद् र संकटका घटनाहरू आइपर्दा रास्वपाका मन्त्री र नेताहरूले प्रधानमन्त्रीलाई 'बाइपास' गरेर काम गरिरहेको उनको भनाइ छ ।
धार्मिक सद्भाव बिथोलिएको सुनसरीको देवानगञ्ज घटनादेखि रसुवाको भोटेकोसी बाढीबाट उत्पन्न विपत्तिसम्मका घटनामा पार्टी नेतृत्व र मन्त्रालयहरूको भूमिका प्रधानमन्त्रीको गतिभन्दा भिन्न र असहयोगी देखिएको उनले उल्लेख गरे ।
'तारन्तारको विदेश र धार्मिक यात्रा शंकास्पद'
नेता साहले रास्वपाको कोर टिमको वैदेशिक र आन्तरिक भ्रमणका शृङ्खलाहरूलाई सामान्य रूपमा लिन नहुने भन्दै शंकाको दृष्टिले हेर्नुपर्ने बताए । उनले भने, "रास्वपा सभापति रवि लामिछानेको यसअघिको भारत र चीन भ्रमणको तयारी, अर्थमन्त्री वाग्लेको वर्तमान भारत भ्रमण र अहिले पुनः सभापति लामिछाने अचानक धार्मिक यात्राको नाममा भारत निस्किनु कूटनीतिक कसीबाट रहस्यमय देखिन्छ ।"
'स्थानीय तहको निर्वाचनसम्म मात्रै बालेनको उपयोग'
पूर्वमन्त्री साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाहलाई आसन्न स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोजेको भन्दै प्रधानमन्त्री र उनका समर्थकहरूलाई समयमै सजग हुन सुझाव दिएका छन् । रास्वपाको समग्र पङ्क्ति केवल चुनावमुखी र पदमुखी मात्रै भएको उनको आरोप छ।
"घण्टीवालाहरूलाई देश र जनताको कुनै चिन्ता छैन, उनीहरूलाई कुर्सीको मात्रै चिन्ता छ। चुनाव कसरी जित्ने र कसरी नयाँ पद हत्याउने भन्ने अवसरवादी सोच उनीहरूमा हाबी छ," साहले थपे ।
'सामाजिक सञ्जालमा फोहोरी गालीगलौज'
रास्वपा समर्थक कार्यकर्ताहरूको प्रवृत्तिको आलोचना गर्दै साहले रवि लामिछाने निकट घण्टी कार्यकर्ताहरू सामाजिक सञ्जालमा निकै उग्र रूपमा प्रस्तुत हुने गरेको बताए । घण्टीका कार्यकर्ताहरूलाई सामाजिक सम्बन्ध र लोकतान्त्रिक मर्यादाको महत्व थाहा नभएकाले उनीहरूले असहमति राख्ने जो–कोही विरुद्ध डिजिटल सञ्जालमा फोहोरी गालीगलौज गर्ने र वातावरण दुषित बनाउने गरेको उनले टिप्पणी गरे ।
प्रतिक्रिया