×

दिल्लीमा वाग्ले र जयशंकरको भू-राजनीतिक जुहारी: के विश्व व्यवस्था बहुपक्षीयताबाट 'तदर्थ र लचिलो' समूहतर्फ मोडिएको हो?

images

काठमाडौँ। भारत भ्रमणमा रहेका नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबिच नयाँ दिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय मञ्चमा विश्व व्यवस्था, बहुपक्षीयता र क्षेत्रीय सहकार्यको भविष्यबारे रोचक तथा गहन संवाद भएको छ।

भारतीय ख्यातिप्राप्त सञ्चारमाध्यम NDTV द्वारा आयोजित ‘NDTV वर्ल्ड समिट २०२६’ को ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ (सार्वभौम छनोटको भू-राजनीति) शीर्षकको सत्रमा विदेशमन्त्री जयशंकर प्रमुख वक्ता र अर्थमन्त्री डा. वाग्ले अतिथि वक्ताका रूपमा आमनेसामने भएका हुन्। उक्त सत्रमा दुई परिपक्व अर्थ-कूटनीतिज्ञबिच विश्वव्यापी विखण्डन र बदलिँदो साझेदारीको संरचनाबारे बौद्धिक प्रश्नोत्तर चलेको थियो।

अर्थमन्त्री वाग्लेको प्रश्न: "के हामी पेन्डुलमको अर्को छेउतिर जाँदै छौँ?"

संवादको सुरुवात गर्दै अर्थमन्त्री डा. वाग्लेले शीतयुद्धको अन्त्यपछि विश्वले व्यापार र आर्थिक क्षेत्रमा अपनाएको बहुपक्षीयता (Multilateralism) को आधार पछिल्ला वर्षहरूमा कमजोर बन्दै गएको स्मरण गराए । उनले ठूला शक्ति राष्ट्रहरूले बहुपक्षीयतालाई ओझेलमा पार्दै लगेको, व्यापारिक गुटहरू (Trade Blocs) बढेको र विश्वव्यापी रूपमा विखण्डन फैलिएको धारणा राखे।

नेपाल र दक्षिण एसियाको परिवेश जोड्दै डा. वाग्लेले विदेशमन्त्री जयशंकरलाई प्रश्न गरे, "विश्वमा बढ्दो तनाव र संकटका बिच के हामी अब बहुपक्षीयतालाई क्षेत्रीय बनाउँदै पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ? के हामीले विपद् प्रतिकार्य, पोषण, ऊर्जा र स्वच्छ ऊर्जाजस्ता क्षेत्रहरूमा द्विपक्षीय, त्रिपक्षीय र उपक्षेत्रीय तहका प्रयासहरूलाई थप औपचारिक र संस्थागत रूपमा आड दिन आवश्यक छ?"

भारतीय विदेशमन्त्री जयशंकरको जवाफ: "देशहरू अब ठूला संस्थाभन्दा परिणाममुखी तदर्थ समूह चाहन्छन्"

अर्थमन्त्री वाग्लेको प्रश्नको बडो चाखलाग्दो जवाफ दिँदै भारतीय विदेशमन्त्री जयशंकरले पछिल्ला दुई दशकमा विश्व कूटनीतिमा ठूलो परिवर्तन आएको र देशहरू औपचारिक प्रतिबद्धता वा बोझिला संस्थागत संरचना खडा गर्न तयार नरहेको स्पष्ट पारे।

जयशंकरले भने, "अहिलेको स्पष्ट प्रवृत्ति भनेको देशहरू बढी तदर्थ (Ad-hoc) र समान विचारधारा भएका (Like-minded) समूहहरूतर्फ आकर्षित हुनु हो । आजका दिनमा राष्ट्रहरू कम प्रशासनिक भार र कम झन्झट भएका तर तुरुन्तै ठोस परिणाम दिन सक्ने (Outcome-oriented) लचिलो मोडलमा सहकार्य गर्न चाहन्छन् ।"

यसको उदाहरण दिँदै उनले भारतले विगत एक दशकमा द्विपक्षीय संयन्त्रबाहेक विभिन्न क्षेत्रमा करिब ५० वटा त्रिपक्षीय, चतुर्पक्षीय (जस्तै क्वाड) र समान विचारधारा भएका देशहरूको लचिलो समूह निर्माण गरेको जानकारी दिए। उनले ब्रिक्स (BRICS) र साङ्घाई सहयोग सङ्गठन (SCO) को संरचनागत भिन्नता औँल्याउँदै ब्रिक्सको कुनै औपचारिक लिखित बडापत्र वा स्थायी सचिवालय नभए पनि यसले प्रभावकारी रूपमा काम गरिरहेको तर्क गरे । यद्यपि, सम्भव र आवश्यक भएका ठाउँमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) जस्ता औपचारिक संस्थागत संरचनाको पनि आफ्नै महत्त्व रहने उनले स्वीकार गरे ।

विपद् व्यवस्थापनमा भारतको भूमिकाप्रति नेपालको आभार

छलफलका क्रममा अर्थमन्त्री डा. वाग्लेले जलवायु परिवर्तन र प्राकृतिक विपद्का समयमा भारतले छिमेकीका नाताले नेपाललाई पुर्‍याएको तत्कालिन सहयोगको उच्च प्रशंसा गरे। उनले सन् २०१५ को विनाशकारी भूकम्प र हालै रसुवा–भोटेकोसी क्षेत्रमा आएको बाढीपहिरोका बेला घटना घटेको पहिलो केही घण्टाभित्रै भारतले उद्धार र राहत सामग्रीसहित सहयोग उपलब्ध गराएको स्मरण गर्दै त्यसप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट कृतज्ञता प्रकट गरे ।

एनडीटीभीको यस मञ्चमा दुई नेताबीच भएको बहसले बदलिँदो बहुध्रुवीय विश्व व्यवस्थामा साना र विकासशील देशहरूले आफ्नो सार्वभौम छनोट र क्षेत्रीय साझेदारीलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने विषयमा नयाँ कूटनीति तथा दिशाको सङ्केत गरेको छ।

शुक्रबार​ ७ कात्तिक २०८३ ०६:१५ PM मा प्रकाशित

प्रतिक्रिया