×

असार मसान्तको दबाब: नेप्सेमा ३० अंकको पहिरो, बजार ८ महिनाकै न्यून बिन्दुमा

images

काठमाडौँ । नेपाली सेयर बजारमा साउनदेखि लागू हुने नयाँ कर व्यवस्थाको मनोवैज्ञानिक त्रास र असार मसान्तको बैंक ब्याज बुझाउने चटारोका कारण सोमबार ठूलो गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले घटेर २५७०.५४ विन्दुमा सीमित भएको छ। यो गिरावटसँगै बजार गत मंसिर ४ गतेयताकै (करिब ८ महिना) न्यून बिन्दुमा झरेको हो।

बजार विश्लेषकहरूका अनुसार, आगामी आर्थिक वर्षदेखि लागू हुने नयाँ कर व्यवस्थाको अन्योलता र मौद्रिक नीतिको प्रतिक्षा गरिरहेका लगानीकर्ताहरू असार मसान्तमा सावाँ-ब्याज व्यवस्थापनको दबाबमा पर्दा बजारमा बिक्रीको उच्च चाप देखिएको हो।

कारोबार रकममा भने उत्साह बजार परिसूचकमा उच्च गिरावट आए पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ। आइतबार ६ अर्ब ८६ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार रकम बढेर ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँ पुगेको छ। यो कारोबार रकम गत वैशाख ९ गतेयताकै उच्च हो, जसले बजार घटेको बेला सस्तो मूल्यमा सेयर उठाउने खरिदकर्ताहरू पनि सक्रिय रहेको संकेत गर्छ।  सोमबार कुल ३६८ कम्पनीका ४ करोड १७ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका थिए।

 सोमबारको बजारमा व्यापार समूह सबैभन्दा धेरै २.३० प्रतिशतले ओरालो लागेको छ। यस्तै होटल तथा पर्यटन समूह १.९९ प्रतिशत र जलविद्युत् समूह १.९८ प्रतिशतले घटेका छन्। बैंकिङ समूहमा ०.६८, फाइनान्समा १.३२, र माइक्रोफाइनान्समा ०.८७ प्रतिशतको गिरावट दर्ता भएको छ।

समग्र बजारमा आज २४९ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने जम्मा २२ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। ४ कम्पनीको मूल्य भने स्थिर रह्यो।

भारी गिरावटको बीच पनि सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.३७ प्रतिशत र आत्मनिर्भर लघुवित्तको मूल्य ५ प्रतिशतले बढेको छ। अर्कोतर्फ, उपकार लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ११.२८ प्रतिशत गुमाएका छन्। त्यस्तै बुद्धभूमि हाइड्रोपावरको ७.४७ प्रतिशत र दिव्यश्वरी हाइड्रोपावरको ६.५१ प्रतिशतले मूल्य घटेको छ। आजको कारोबारमा विभिन्न बैंक तथा वित्तीय संस्थाका ऋणपत्र (Debentures) हरू अग्रस्थानमा रहेका छन्।

सोमबार २९ असार २०८३ ०३:४२ PM मा प्रकाशित

प्रतिक्रिया