×

आलु र प्याजमा लगाइएको भ्याट फिर्ता गर्न व्यवसायीको माग

images

काठमाडौं, जेठ ३०। आलुु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् । नेपाल कृषि उपज आलु, प्याज आयात निर्यात तथा थोक बिक्रेता सङ्घले सोमबार पत्रकार सम्मेलन गरेर बजेटमार्फत लगाइएको भ्याटका कारण आलु, प्याज महँगो भई उपभोक्ता मारमा पर्ने भन्दै खारेज गर्न माग गरेका हुन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आलु, प्याजको आयातमा भ्याट लगाउने व्यवस्था गरेको थियो ।

सङ्घले आलु र प्याजमा लगाइएको भ्याट नहटाएसम्म आयात नखुलाउने जनाएको छ । भ्याट लागेयताको डेढ सातादेखि आलु, प्याजको आयात नगरेको सङ्घको भनाइ छ । सङ्घका अध्यक्ष मोहन बानियाँले आलु, प्याजमा नौ प्रतिशत कृषि सेवा शुल्क, अग्रिम आयकर पाँच प्रतिशत गरी १४ प्रतिशत कर लगाउँदै आएकामा थप १३ प्रतिशत भ्याट लगाउँदा व्यवसायी हतोत्साही तथा उपभोक्ता मारमा परेको बताए। आलु, प्याजमा १३ प्रतिशत भ्याट लगाउँदा आलु, प्याजको मूल्य एक तिहाइले बढ्ने उनको भनाइ छ । भ्याट बढाउँदा तस्करीबाट आयात भई बजारमा महँगो पर्न जाने पनि उनले बताए । गैरकानुनी ढङ्गबाट प्याज ल्याएर बढी मूल्यमा बिक्री भइरहेको व्यवसायीको भनाइ छ ।

सङ्घका अनुसार नेपालमा ९० देखि ९५ प्रतिशत प्याज भारतबाट आयात हुने गरेको छ । यस्तै ५० देखि ६० प्रतिशत आलु भारतबाट आयात हुने सङ्घले जनाएको छ । सरकारले नेपालको उत्पादन बढाउने उद्देश्यले भ्याट लगाएको तर उत्पादन नै नभएका बेला यस्तो नीति ल्याउनु ठिक नभएको व्यवसायी उज्ज्वल कार्कीको भनाइ छ ।

आन्तरिक उत्पादन पर्याप्त बनाउन पहल नै नगरी १३ प्रतिशत कर विस्तार गर्दा व्यवसायी र उपभोक्तालाई आर्थिक भार पर्ने पनि सङ्घले जनाएको छ । सङ्घका अनुसार नेपालमा वार्षिक २० अर्ब रुपैयाँ बराबरको आलु, प्याज कारोबार हुने गरेकामा स्थानीय उत्पादनले माग धान्न नसक्दा १७ अर्ब रुपैयाँ बराबरको आलु र प्याजको आयात हुने गरेको छ ।

सङ्घका अनुसार चालु आवको साउनदेखि वैशाखसम्म नेपालमा छ अर्ब ९८ करोड रुपैयाँको आलु आयात भएको छ । यसबाट ७१ करोड ७४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै वैशाख महिनासम्म पाँच अर्ब ७० करोड रुपैयाँको प्याज आयात भएको र यसबाट ५७ करोड रुपैयाँ सङ्कलन भएको छ ।

बजेटअघि प्रतिकेजी ५० रुपैयाँ खुद्रा मूल्य रहेको प्याजको मूल्य अहिले बढेर प्रतिकेजी एक सय रुपैयाँ पुगेको छ । बजेटअघि प्रतिकेजी ३१ रुपैयाँमा कारोबार भएको भारतीय रातो आलु अहिले प्रतिकेजीमा ६० रुपैयाँसम्म पुगेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले आलु र प्याजको मूल्य सूची सार्वजनिक गरेको छैन । कालीमाटीमा आलु र प्याज नभएका कारण त्यसको मूल्य सार्वजनिक नगरिएको समितिले जनाएको छ । गोरखापत्र दैनिकबाट

मङ्गलबार ३० जेठ २०८० ०७:११ AM मा प्रकाशित

प्रतिक्रिया