×

मेयर बालेन्द्र साहलाई सरकारको जवाफ : जनस्वास्थ्यमाथि खेलवाड नगर

images

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको सिंहदरबार र राजधानी सार्नुपर्ने भनी दिएको चुनौतीमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले स्थानीय सरकार कानूनअनुसार चल्नुपर्ने बताएकी छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “स्थानीय तह पनि सरकार हो । त्यसले संविधान, नीति, कानुन बुझ्नुपर्छ । त्यसअनुसार चल्नुपर्छ । ”
“कानुन, संविधानमा भएका कतिपय व्यवस्था चित्त बुझ्दैन, या त त्यसलाई परिवर्तन गर्ने सामर्थ्य राख्नुपर्छ । जनताबाट चुनिएका मान्छेले कानुन मान्दैन भने हुन्छ के हुन्छ” भन्ने मन्त्री शर्माले टिप्पणी गरिन् ।

उनले संविधानको अनुसूची ८ मा फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हुने स्पष्ट व्यवस्था रहेको बताइन् । उनले जनस्वास्थ्यमाथि खेलबाड गर्न नहुनेमा जोड दिइन् । “अर्को कुनै उद्देश्यपूर्तिका निमित्त, अर्को काम सल्ट्याउनका निमित्त हड्तालतको विषय बनाउनु हुन्न,” उनले भनिन्, “जिम्मेवार पदाधिकारीले यस्तो विषयमा बोल्नु र कदम चाल्नुले राम्रो सन्देश दिँदैन । जनस्वास्थ्यमाथिको खेलबाड पनि ठहर्छ । आफूले भनेको विषय टुंगिएन भनेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइँदैन ।”

सुकुम्वासी व्यवस्थापन गर्न संघ सरकारले सहयोग गरेन भन्ने विषयमा बालेनले हड्ताल गरेको आरोप उनले लगाइन् । एकैपटक डोजर लगेर भत्काउने नभई त्यो कानुनी ढंगले टुंग्याउने विषय भएको उनको भनाइ छ ।

बिहीबार ३० चैत २०७९ ०५:५१ PM मा प्रकाशित

प्रतिक्रिया