×

सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुन्छौ : रवि लामिछाने

images

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन्। सोमबार बिहान चितवनमा पत्रकारसँग कुरा गर्दै लामिछानेले अहिले आफ्नो पार्टीले परिस्थितिको मूल्याङ्कन गर्नेकाम मात्रै गरिरहेको बताए। 

 उनले भने, ‘सरकारमा जाने तयारी भन्ने होइन। परिस्थितिलाई मूल्यांकन गर्नुपर्ने हुन्छ।’ उनले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए। ‘अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन’, उनले भने।  

रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियालिरहेको उनले बताए। आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको भन्दै लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको स्पष्टीकरण दिए। 

सरकारलाई अब समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र छलफल गर्न बाँकी रहेको उनको भनाई थियो। आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी सुरू गरेको उनले जानकारी दिए।

सोमबार २९ फागुन २०७९ ११:१७ AM मा प्रकाशित

प्रतिक्रिया