×

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पुस्तक प्रदर्शनी

images

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठानले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी सुरु गरेको छ ।

    प्रदर्शनीमा साहित्य, समालोचना, बाल साहित्य, कोश, कथा, कविता, इतिहास, लोक साहित्य, संस्कृति, ललितकला, सङ्गीत, विभिन्न ‘जर्नल’ गरी ५०० प्रकारका पुस्तक एवं पत्रपत्रिका राखिएको छ । प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिनेछ । नेपाली बृहत् शब्दकोश एउटा किन्दा १५ प्रतिशत र दुई किन्नेलाई २० प्रतिशत सहुलियत दिइएको छ । 

    प्रदर्शनी १५ दिनसम्म चलाउने तयारी गरिएको छ । पाठकको चाहना बढ्यो भने अवधि थप गर्न सकिने प्रतिष्ठानले जनाएको छ । प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान एवं सांस्कृतिक संस्थानबाट प्रकाशन गरिएका पुस्तक एवं पत्रपत्रिकासमेत राखिएको छ । ललितकला प्रज्ञाप्रतिष्ठानका प्रकाशनमा भने ५० प्रतिशतसम्म सहुलियत दिइएको छ । 

    पुस्तक प्रदर्शनी उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले  नयाँ प्रकाशनका बारेमा जानकारी दिन पनि १५ दिने कार्यक्रम उपयोगी हुने बताउनुभयो । पाठकको चासो बढ्यो भने प्रदर्शनीको अवधि थप गरिने उहाँले जानकारी दिनुभयो । प्रतिष्ठानका प्रकाशन बिक्रीका लागि प्रदर्शनी सहायक सिद्ध हुने आशा गरिएको छ । प्रतिष्ठानले सधैँका लागि प्रदर्शनी कक्ष राख्ने तयारी गरेको जानकारी गराएको छ । प्रतिष्ठानले कस्ता प्रकाशन पाठकसामु ल्याएको छ भन्ने जानकारी दिन पनि प्रदर्शनी उपयोगी हुने विश्वास गरिएको छ ।  

    यसअघि राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २५ गतेदेखि आयोजना गरिएको प्रदर्शनी कोरोना भाइरसको तेस्रो लहर बढ्न थालेपछि माघ पहिलो साता नै स्थगित गरिएको थियो । प्रदर्शनीमा प्रतिष्ठानका १० वटामा नयाँ प्रकाशन पनि राखिएको व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । नयाँ थप गरिएका प्रकाशनमा ‘नेपाली लोक विश्वास’, ‘नेपाली निघण्ट’, ‘प्रज्ञा शैक्षणिक व्याकरण’, ‘काठमाडौँ उपत्यकाका केही जात्रा’ लगायत छन् ।

आइतबार​ १ फागुन २०७८ ०१:४७ PM मा प्रकाशित

प्रतिक्रिया