×

फनपार्क निर्माण सुरु

images

सर्लाही : बागमती नगरपालिकाले फनपार्क निर्माणको काम सुरु गरेको छ । दक्षिण एशियाकै ठूलो मानव निर्मित तालको निर्माण गर्दै गरेको नगरपालिकाले बगैँचा पनि निर्माण गरिरहेको छ ।

वडा नं ११ स्थित पूर्व–पश्चिम लोकमार्गबाट फनपार्कसम्म पुग्ने सडकको पनि व्यवस्थापन भइसकेको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्ष २०७८÷७९ मा सडक पनि पूर्णरुपमा निर्माण गरिसक्ने लक्ष्यका साथ काम भइरहेको छ । 

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सुव्यवस्थित फनपार्कको निर्माणको काम थालिएको नगरपालिकाले जनाएको छ । चुरे पहाडको फेंदी र बागमती नदीको किनारमा व्यवस्थित फनपार्कको निर्माण सुरु भएसँगै व्यवसायीको नजर पनि सो फनपार्क निर्माणस्थलतर्फ पुगेको छ । त्यहाँ निजी क्षेत्रबाट पनि रिसोर्ट निर्माणको काम सुरु भएको छ ।

 बागमती नदीको किनारमा शान्त ठाउँमा फनपार्कको निर्माण भइरहेकाले वर्षेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक आउने लक्ष्य लिइएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताउनुभयो । फनपार्कभन्दा पश्चिम छिमेकी जिल्ला रौतहटको पर्यटकीय क्षेत्र नूनथर रहेको र नूनथरमा वर्षेनि लाखौँ पर्यटक आउने गरेकाले नेपाल र भारतका पर्यटकलाई सुविधा सम्पन्न फनपार्क उपलब्ध गराउँदा झन् धेरै पर्यटकको आकर्षण हुने विश्वास आफूहरुले लिएको उहाँको भनाइ छ । 

फनपार्क निर्माणपछि हजारौंले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने जनाउँदै नगर प्रमुख थापाले फनपार्कबाट भरत तालसम्म केबलकार चलाउने र फनपार्कभन्दामाथि चुरेको डाँडामा गौतमबुद्धको प्रतिमा राखिने जस्ता ठूला योजना पनि फनपार्कसँग जोडिएको बताउनुभयो । 
–––

आइतबार​ १ फागुन २०७८ ०१:३८ PM मा प्रकाशित

प्रतिक्रिया