×

क्राइम रिपोर्ट : देशका छुट्टाछुट्टै स्थानमा ३ जनाको मृत्यु, घटनामा संलग्न २० जना अभियुक्त पक्राउ, अनुसन्धान जारी

images

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको मृत्यु भएको छ । घटनामा संलग्न २० जना अभियुक्तलाई पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । 

अनलाइनमार्फत ठगी कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका–१९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ । 

विभिन्न सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफू ईटालीको नागरिक हुँ भन्दै प्रेमको प्रपञ्चमा पारी आईफोन, लेडिज ब्याग, सुन तथा गरगहना ५ हजार डलरसहित गिफ्ट पठाइदिने र उक्त पार्सल पाउनको लागि भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई बिश्वास दिलाइ विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाताहरुमा पटक–पटक गरी जम्मा १७ लाख १५ हजार रुपैयाँ रकम पठाउन लगाई लिई ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व बुलिङटार गाउँपालिका–६ ठिमुरे बस्ने ३० वर्षीय कृष्णबहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका–३ दानश्री बस्ने २५ वर्षीय सुरज बिक रहेका छन् । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स्टिकर टेप ६ थान, ग्लु १० थान, मसी, ब्रस, फलामे स्केल, कैची लगायतका विभिन्न सामानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका–१९ लामाचौर हवल्दार चौताराबाट स्रोत नखुलेको नगद ९ लाख ९५ हजार नेपाली रुपैयाँ र ४७ हजार ५ सय भारतीय रूपैयाँसहित सोही महानगरपालिका–१९ गैराबारी बस्ने पर्वत जलजला गाउँपालिका–६ सालिजा घर भएका ३२ वर्षीय धनबहादुर पुर्जा मगरलाई बिहीबार बिहान सीआरभी लामाचौरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ६८ मिलिग्रामसहित सोही महानगरपालिका–५ बस्ने ३२ वर्षीय सुरज तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय  मिलिग्रामसहित चितवन भरतपुर महानगरपालिका(१२ घर भएका ३९ वर्षीय विशाल पाण्डेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे. ७ प २७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक पाण्डेलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

दाङको घोराही उपमहानगरपालिका–११ नयाँ बस्तीस्थित कात्तिके सामुदायिक जंगलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका–११ शिवपुर बस्ने २६ वर्षीय भिमसेन खड्कालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

खड्काले विक्री वितरण गर्ने उद्देश्यले उक्त जंगलमा लागूऔषध राखेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बेलझुण्डी र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

मकवानपुरको मनहरी गाउँपालिका–७ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजीसहित सोही ठाउँ बस्ने ३० वर्षीय रामशरण चेपाङ समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजा लुकाई छिपाई बोरामा लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

महोत्तरीको जलेश्वर नगरपालिका–१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ५ केजीसहित मकवानपुर थाहा नगरपालिका–२ बस्ने २२ वर्षीय विशाल थिङ्गलाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको प्रहरीले जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको ना. ६ ख ७३७४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा २७ वटा पोकामा लुकाइ–छिपाइ राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रकका सह–चालक विशाललाई पक्राउ गरेको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 

बाराको महागढीमाई नगरपालिका–६ बबुआईनबाट अवैध लागूऔषध गाँजा करिब २९ केजी बुधबार राति प्रहरीले बरामद गरेको छ । 

प्रहरी चौकी गंजभवानीपुर र प्रहरी चौकी बरियारपुरबाट खटिएको संयुक्त टोलीलाई देख्नासाथ प्र.२–०३–०२२ प ४५३५ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले मोटरसाइकलमा ल्याउँदै गरेको बोरा फाली फरार भएपश्चात् प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । 

साथै प्रहरीले खोजी गर्ने क्रममा महागढीमाई नगरपालिका–११ मधुरी टोलस्थित बाँसघारीमा लुकाइ राखेको अवस्थामा उक्त मोटरसाइकल फेला परेको छ भने फरार व्यक्तिको खोजी भइरहेको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

ललितपुरकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने काभ्रे पनौती घर भएका २८ वर्षीय दीपक लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

लामाले ती बालिकालाई असोज २० गतेदेखि २३ गतेसम्म पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ बस्ने पार्वती तामाङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक चौतारा नगरपालिका(१० घर भएका ३५ वर्षीय माला तामाङसमेत ६ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

लमजुङको सुन्दरबजार नगरपालिका–८ रामदी बस्ने ४० वर्षीय कुमार गुरूङलाई हर्नेट जस्तो देखिने बन्दुकसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्याल भोटेओडारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी सिकार गर्न भनी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

रूपन्देही, देवदह नगरपालिका–६ सटक खोलास्थित सडकमा लु. २२ प ३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका–६ सटक खोला बस्ने १८ वर्षीय मनोज मगरको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो ।  साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

सप्तरीको कन्चनरूप नगरपालिका–२ बरमझियास्थित सडकमा प्र. २–०३–००१ ख १०१० नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने राज कुमार गुप्ताको छोरा ७ वर्षीय योगेन्द्र गुप्ताको बुधबार बेलुकी मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

रूपन्देहीको तिलोत्तमा नगरपालिका–७ बर्दगहवा बस्ने ४२ वर्षीय हर्कबहादुर रोका मगर सोही नगरपालिका–८ चार नम्बरस्थित खाली जग्गामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

उदयपुरको त्रियुगा नगरपालिक–१४ स्थित सडकमा मिर्चैया मारुती सिमेन्ट उद्योगबाट सिमेन्ट बोकी खोटाङतर्फ जाँदै गरेको स. १ ख ७१२ नम्बरको टिपरमा गएराति आगलागी हुँदा टिपर र टिपरमा रहेको करिब १ सय बोरा सिमेन्ट पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको एकिन विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

सिरहाको सुखिपुर नगरपालिका–४ कविलाशी बस्ने राम देव यादवको घरबाट नगद २ लाख ७८ हजार रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करिब ९ लाख रूपैयाँ र सोही ठाउँ बस्ने चन्द्र दिप कामतीको घरबाट नगद १० हजार रूपैयाँ तथा विभिन्न गहना समेत गरी करिब १ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ । 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
 

बिहीबार २५ असोज २०८० ०३:३२ PM मा प्रकाशित

प्रतिक्रिया