×

बहुउपयोगी खयर चोरी-निकासी भएको पाइएपछि...

images

खोटाङ, २७ साउन : दश स्थानीय तह रहेको खोटाङ जिल्लाका बेँसी क्षेत्रमा पर्ने अधिकांश वनहरुमा बहुउपयोगी वनस्पति खयर पाइन्छ । आयुर्वेदिक पद्धति अनुसार विभिन्न रोग नियन्त्रणका लागि उपयोगी हुने औषधिजन्य वनस्पति खयर पछिल्लो समय सामुदायिक, कबुलियती र निजी क्षेत्रका वनहरुबाट बिना अनुमति कटान गरी रातारात चोरी निकासी भइरहेको पाइएको छ । 

सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न वडामा पर्ने सामुदायिक, कबुलियती र निजी क्षेत्रका वनहरुबाट यसअघि देखि नै निरन्तर रुपमा बिना अनुमति खयरका काठ चोरी निकासी हुने गरेको समाचार स्रोतको दाबी छ । प्रतिबन्धित खयरका काठ चोरी निकासीमा स्थानीय जनप्रतिनिधि, वन कार्यालयका कर्मचारी र ठेकेदारको मिलेमतो रहँदै आएको स्थानीय बासिन्दाको आरोप छ । 

 भर्खरैमात्र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित खोक्सेली सामुदायिक वनबाट बिना अनुमति कटान गरी दुईवटा ट्र्याक्टरमा निकासी गर्दै गर्दा बरामद गरिएको छ । यही साउन २४ गते राति सामुदायिक वनबाट ट्र्याक्टरमा लोड (भारी हालेर) निकासी गर्दै गर्दा स्थानीयवासी कुन्तादेवी आमा समूहले नियन्त्रणमा लिएर बरामद गरेको हो । 

राति करिब ८ बजेको समयमा बरामद गरिएको दुई ट्र्याक्टर खयरका काठ स्थानीय गरिबी निवारण संस्थाको कार्यालय भवन अगाडि थुपारेर राखिएको स्थानीय बासिन्दाले बताएका छन् । झापा घर बताउने ठेकेदार अनिल राईले बडहरेकै एक व्यक्तिलाई कटान गर्न लगाएर ट्र्याक्टरमा लैजाँदै गर्दा नियन्त्रणमा लिइएको आमा समूहका अध्यक्ष सुमित्रा दाहालले जानकारी दिनुभएको छ । 

राति खानेपानी जोड्न आमा समूहका अध्यक्ष दाहालसँगै सदस्यहरू लोकमाया दाहाल, सुमित्रा दाहाल र दिलकुमारी भुजेल मुहानतर्फ जाने क्रममा ट्र्याक्टरले खयर लिएर आउँदै गरेको देखेपछि रोकेको जनाइएको छ । यस अगाडि पनि बिना अनुमति खयरको काठ कटान हुनु र ढुवानी हुँदासमेत कुनै पक्षबाट जाँच नहुनुले वन कार्यालयकै कर्मचारीको मिलेमतो रहेको स्थानीय बासिन्दाको आरोप छ ।

ट्र्याक्टर रोकेर सबैलाई जानकारी गराएपछि प्रहरीले थाहा पाए भने समस्या हुने भन्दै सोही ठाउँमा काठ छाडेर ट्र्याक्टसहित चालकहरु त्यहाँबाट राति नै भागेको स्थानीय बासिन्दाले बताएका छन् । आमा समूहले खयरका काठ नियन्त्रणमा लिएपछि बिहीबार सामुदायिक वनमा गएर हेर्दा ६२ वटा खयरको बोट काटिएको भेटिएको सो सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष घनश्याम दाहालले जानकारी दिनुभएको छ । 

खोक्सेली सामुदायिक वनमा बिना अनुमति काटिएको खयरको विषयमा स्थलगत छानबिन गर्न वडासदस्यलाई पठाइएको बडहरेका वडाध्यक्ष किशोर बस्नेतले जानकारी दिनुभयो । “हाम्रो क्षेत्रबाट नियमित रुपमा खयरका काठ निकासी हुँदै आएको छ । यसअघि निकासी गर्दा सबै प्रक्रिया पूरा गरेपछि मात्र निकासी गरिन्थ्यो”, उहाँले भन्नुभयो, “प्रक्रिया नपु¥याई कुनै पनि काम गर्नु भ्रष्टाचार हो । खोक्सेली सामुदायिक वनमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्छ ।” 

जिल्लाको पश्चिमी क्षेत्र हेर्दै आएको सब–डिभिजन वन कार्यालय हलेसीका प्रमुख रामसागर मण्डलले बडहरेका आमा समूहले बरामद गरेका खयरका काठको विषयमा स्थलगत अध्ययन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने बताउनुभयो । “बडहरेमा खयरका काठ कटानसम्बन्धी अहिलेसम्म कसैले पनि आदेश लिएका छैनन् । म काम विशेषले जिल्ला बाहिर थिएँ ”, उहाँले भन्नुभयो, “बिना अनुमति कटान गरिएको खयर बरामद गरिएको छ भन्ने खबर सुनेपछि म कार्यालय फर्किएको छु । अब स्थलगत अध्ययन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउँछु ।”

सोही नगरपालिका–२ डिकुवामा पनि यसअघि देखि नै खयरको काठ कटान गरेर निकासी गरिरहेको पाइएको छ । चितवन जिल्लाबाट आएका ठेकेदार अर्जुन बस्नेतले डिकुवाका विभिन्न ठाउँबाट खयर कटान गरी निकासी गरिरहेको वडाध्यक्ष देवेन्द्र राईले बताउनुभयो । 

डिकुवामा एक हजार चार सय ५७ क्युफिटमात्र खयर खटान आदेश लिएको सब–डिभिजन वन कार्यालय हलेसीका प्रमुख मण्डलले जानकारी दिनुभयो । तर, उक्त क्षेत्रमा कति कटान भयो भन्ने मण्डललाई समेत जानकारी नरहेको पाइएको छ । 

डिकुवाका स्थानीय बासिन्दा केशरबहादुर मगरले बाइटार भन्ने ठाउँमा रहेको आफ्नो निजी जग्गाको खयर कटानका लागि आदेश लिए पनि ठेकेदारले आसपासका सामुदायिक वनको समेत कटान गरेको स्थानीयवासीको दाबी छ । मगरको कटान आदेशकै आधारमा स्थानीय कुमारसिं राईको बलुही भन्ने ठाउँमा रहेको जग्गाबाट सात हजार क्युफिट खयर निकारी गरेको पाइएको वडाध्यक्ष राईले बताउनुभयो । 

बिना अनुमति यसरी खयर कटान हुनु र बिना परीक्षण ढुवानी हुनुमा वन कार्यालयका कर्मचारी र ठेकेदारको मिलेमतो हुनसक्ने स्थानीय बासिन्दा आरोप छ । डिकुवामा कटान गरिएका खयरका अधिकांश काठ निकासी भइसकेको र बाँकी सात ट्र्याक्टर बोझे ओढार नजिक ल्याएर राखिएको पाइएको छ । 

कटान गरिएकै स्थानमा प्रतिकेजी रु २५ मा बिक्री भइरहेको खयर हलेसी तुवाचुङ नगरपालिकाका बाहुनीडाँडा, च्याम्सिटार, दुर्छिम, धितुङ र राजापानीका साथै जिल्लाका विभिन्न ठाउँबाट निकासी हुने गरेको छ । प्रतिबन्धित खयर जिल्लाबाट बिना अनुमति बिना परीक्षण खुलेआम निकासी हुनुमा ठूलो मात्रामा आर्थिक चलखेल हुने गरेको समाचार स्रोतले दाबी गरेको छ । 

डिकुवा र बडहरेमा खयर कटान गरेर निकासी गर्ने दुवैजना ठेकेदारसँग फोन सम्पर्क हुन सकेको छैन । उनीहरु दुवै जनालाई पटक–पटक फोन गर्दा उनीहरु दुवै जनाको फोन लागे पनि रिसिभ (नउठाएको) नगरेको पाइएको छ । 

 बहुउपयोगी औषधिजन्य वनस्पति खयर पाचन शक्ति बढाउन र झाडापखालालाई निकै फाइदा हुने भएकाले बिक्री हुने गरेको स्थानीय बासिन्दाले बताउने गरेका छन् । घाउ, खटिरा, बाथ तथा मर्केको जोर्नीहरूमा लेप (खयरका काठ घोटेर आउने लेदो) लगाउन पनि यसलाई प्रयोग गर्ने गरिएको छ ।
 

शनिबार २७ साउन २०८० ०८:२१ PM मा प्रकाशित

प्रतिक्रिया