×

तपाईँलाई भएको हो तनाव, हामीलाई केही भएको छैन- प्रचण्ड

images

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चर्किएको बहसले केहि तनाव नभएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाडामा स्थायी   समितिको बैठकपछि पेरिसडाँडामा सोमबार अपराह्न पत्रकारहरूको प्रश्नमा जबाफ दिएका अध्यक्ष प्रचण्डले केही नहुने र सबै मिलेर जाने बताएका हुन्।

नेतृत्व हस्तान्तरणबारे लिखित प्रस्ताव नै आयो, यसमा के छ धारणा भन्ने पत्रकारको प्रश्नमा जबाफ दिएका अध्यक्ष प्रचण्डले भने, ‘केही हुँदैन सबै मिलेर जान्छ। तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन।

’यस विषयमा पार्टी प्रवक्ता अग्नि सापकोटाले पनि प्रस्ट पारेका थिए। उनले नेतृत्व हस्तान्तरणको विषयमा कुरा उठेको स्वीकारे। तर, ती सबै समस्या समाधान भएर जाने उनको दाबी छ। 'प्रस्ताव आउनेवित्तिकै सबै कुरा भइहाल्छ भन्ने हुँदैन नि। यस विषयमा व्यापक छलफल भइरहेको छ। राम्रो निचोड निस्किन्छ भन्ने कामना गरौं,' उनले भने। 

उपमहासचिव शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई पार्टी नेतृत्व छाड्न सुझाव दिएका थिए। 

अध्यक्ष प्रचण्डलाई उनले चाहेको व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्ने वा तेस्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने अथवा महाधिवेशनमार्फत् प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्न सुझाव दिएका हुन्। 

पार्टी केन्द्रीय कार्यालयमा जारी स्थायी समितिको बैठकमा सोमबार पाँच जना नेताहरुले पार्टी निर्माण, साङ्गठनिक संरचना, समसामयिक राजनीतिक विषयमा धारणा राखेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा धारणा राख्ने नेताहरुले सदन र सडकलाई थप प्रभावकारी बनाउने एवं स्पष्ट कार्यनीति, कार्ययोजनासहित जनतामा जानुपर्नेमा जोड दिएका थिए । पार्टी सङ्गठनलाई चुस्त दुरुस्त बनाउनुपर्ने, जनताका एजेण्डालाई थप प्रष्टतासहित उठाउनुपर्नेमा जरुरी रहेकामा नेताहरुको जोड थियो । राजनीतिक परिवर्तनपछि आर्थिक विकास हुन नसकेको, आत्मनिर्भर अर्थतन्त्रको विकास हुन नसकेको सन्दर्भलाई जोड दिएर खास अर्थमा पार्टीले पहल गर्नुपर्नेमा नेताहरुको जोड थियो ।

संविधानप्रदत्त समाजवादलाई नेपाली विशेषतामा लागू गर्दै समाजवादी प्रतिस्पर्धामा जानुपर्ने नेताहरुको धारणा रहेको थियो । स्थायी समितिको बैठकपछि केन्द्रीय समितिको बैठक बोलाउने र थप कार्ययोजना पारित गर्ने तयारीमा माओवादी रहेको छ । पार्टीभित्र पुस्तान्तरणका विषयमा छलफल भएको उल्लेख गर्दै प्रवक्ता सापकोटाले बेठकको अन्त्यसम्म एउटा निष्कर्ष आउने बताए ।

'अहिल्यै यसो भयो भनेर मैले निष्कर्ष सुनाउन मिल्दैन । थप छलफल र बहसका आधारमा निष्कर्ष आउँछ', उनले भने । बैठकमा नेताहरु दिनानाथ शर्मा, अञ्जना विसङ्खे, यशोदा सुवेदी, हितराज पाण्डे, रेखा शर्मा र पेशल खतिवडाले आफ्नो धारणा राखेका थिए ।

सोमबार २८ साउन २०८१ ०८:५४ PM मा प्रकाशित

प्रतिक्रिया