×

समाज रुपान्तरणका निम्ति युवा पुस्ताको नेतृत्वदायी भूमिका आवश्यक छ ः मन्त्री मोदी

images


मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले समाज रुपान्तरणका निम्ति युवा पुस्ताको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताएका छन् । 

मोरङको विराटनगरमा अन्तर्राष्टिय युवा दिवसको अवसरमा मातृभूमि फाउण्डेशन नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । 

“समाज रुपान्तरणका निम्ति युवा पुस्ताले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ” मन्त्री मोदीले भने, “देशको परिस्थिती र समाजको आवश्यकतालाई ध्यानमा राखेर युवा पुस्ताले मुलुक निर्माणमा योगदान गर्न सक्नुपर्छ ।”

नेपालमा रोजगारीको अवसर नभएका कारण लाखौँ लाख युवाहरु खाडी मुलुकमा जान बाध्य भएको बताउँदै मन्त्री मोदीले उनीहरुको श्रम र सीपलाई उपयोगमा ल्याउनेगरी सरकारले काम गरिरहेको समेत बताए । उनले थपे, “जो युवाहरु विदेशिएका छन्, त्यहाँ पनि बोटमा पैसा फलेको छ भनेर टिप्न गएका होइनन्, उनीहरुले रगत र पसिना बगाएर श्रम गरिरहेका छन्, उनीहरुलाई नेपालमै रोजगारीको प्रबन्ध गर्ने र युवाहरु विदेशिने क्रमलाई रोक्नेबाहेक सरकारसँग अर्को विकल्प छैन ।”

मन्त्री मोदीले भ्रष्टचारीहरीहरुलाई कानुनी दायरामा ल्याई सुशासन कायम गरी देशमा रोजगारी सिर्जना गर्ने बाटोमा सरकार अगाडि बढिरहेको समेत बताए । 

कार्यक्रममा नेपाल र भारतका विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका युवाहरुले धारणा समेत राखेका थिए । 
 

शनिबार २७ साउन २०८० ०३:३६ PM मा प्रकाशित

प्रतिक्रिया