×

न्युरोड क्षेत्रलाई भेइकल फ्रि जोन बनाउने

images

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रलाई भेइकल फ्रि क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । जथाभावी पार्किङका कारण सौन्दर्यता गुमाउँदै गएको न्युरोडलाई भेइकल फ्रि क्षेत्र घोषणा गर्न लागेको हो । त्यसका लागि कामपाले योजना तयारी गरिरहेको जनाएको छ । कामपाले राजधानीका अधिकांश सडकमा भएको पार्किङ हटाए पनि न्युरोड क्षेत्रको हटाउन सकेको छैन ।

महानगरले केही महिनापछि सो क्षेत्रबाट पार्किङ खाली भएपछि न्युरोड क्षेत्रलाई भेइकल फ्री जोन बनाउन लागेको हो । कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले धरहरा र काठमाडौं मलको भूमिगत तला खाली भएपछि न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्न लागेको बताए । उनले भने– ‘न्युरोड प्रवेश गर्ने सवारीसाधनलाई नेपाली सेनाको महांकालस्थित व्यापारिक भवन, धरहरा र काठमाडौं मलमा पार्किङको व्यवस्था मिलाउँदै छौं, त्यसपछि न्युरोडलाई पार्किङ निषेध क्षेत्र घोषणा गर्नेछां ।’

न्युरोड, असन, भोटाहिटी, हनुमानढोका दरबारक्षेत्र, मखनलगायतका क्षेत्रको संस्कृति जोगाउन र ती क्षेत्रको पहिचान बनाउन न्युरोड क्षेत्रलाई भेइकल फ्री क्षेत्र बनाउन लागेको कामपाको भनाइ छ । स्थानीयवासीका लागि रातीको समयमा सवारी लैजान निश्चित समय दिने तयारी महानगरको छ ।

सबै सडकको पार्किङ खाली गरेको कापमाको आफ्नो एउटा पनि निःशुल्क पार्किङ छैन । ‘कालोपत्रे सडकमा पार्किङ गर्न नदिने भएपछि कहाँ निःशुल्क गर्न सकिन्छ’ –प्रहरी प्रमुख पाण्डेको भनाइ छ । उनले व्यापारिक भवन भएका सबैले आफ्नो भवनको तल्लो तलामा पार्किङको व्यवस्थापन गर्न नसकेपछि समस्या बढेको बताए । यसअघि कामपाले पटकपटक प्रयास गरे पनि न्युरोडलाई भेइकल फ्री क्षेत्र बनाउन सकेको थिएन । नेपाल समाचारपत्र दैनिकबाट

सोमबार २९ जेठ २०८० ०७:५७ AM मा प्रकाशित

प्रतिक्रिया