×

जङ्गबहादुरलाई चार कार्यालय !

images

बैतडी । बैतडी, बझाङ र दार्चुला जिल्लाको यात्रा गाडीमा गर्दा करिब दुई दिन लाग्छ । बैतडीबाट बझाङ पुग्न पनि गाडीमा एक दिन लाग्छ तर सुदूरपश्चिमका बैतडी, दार्चुला र बझाङ जिल्लाका चारवटा सरकारी कार्यालय प्रमुखको जिम्मेवारी भने एक जना कर्मचारीमा छ ।

बैतडी र दार्चुला जिल्ला हेर्ने पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर जङ्गबहादुर थापालाई बैतडीस्थित भवन डिभिजन कार्यालय र बझाङको पूर्वाधार विकास कार्यालयको पनि जिम्मेवारी थपिएपछि उनका अफिस तीन जिल्लाका चार पुगेका हुन् । बझाङ एक दिन बसेर उनी भोलिपल्ट दार्चुलाको स्थलगत कार्यालय पुग्छन्। त्यहाँका योजना हेरेर उनी पूर्वाधार विकास र भवन डिभिजन कार्यालय बैतडी पुग्दा चार दिन बित्छ ।

होटलमा खाना खाएर रातबिरात गाडीमा दगुर्दा जङ्गबहादुरले राम्ररी सुत्न नपाएको कैयौँ रात भइसकेको छ । उनी दार्चुला र बझाङको कार्यालयका योजना हेरेर मङ्गलबार बैतडी आइपुगेका हुन् । राति नहिँडे अर्को जिल्लाको काम गर्न नभ्याइने भएकाले दौडधुप गरिरहेको थापाले बताए ।

तीन जिल्लाका चारवटा कार्यालयमार्फत झन्डै दुई अर्बका ३२२ वटा सडक पूर्वाधार र भवन निर्माणका योजना सञ्चालित छन् । समयमै योजना पूरा गर्नुपर्ने दायित्व आइलागेपछि उनी दिनभरि एक जिल्लाको काम सकेर रातभर हिँडी भोलिपल्ट अर्को जिल्लाको काम गर्छन् । यति धेरै काम गरेर पनि जङ्गबहादुरले पाउने तलब भनेको एउटा कार्यालयबाट मात्रै हो । दोहोरो सुविधा लिन नपाइने नियम छ ।

सङ्घीयतापछि बैतडीमा रहेका सडक डिभिजन र पाटन नयाँ सहरजस्ता प्राविधिक कार्यालय घाम ताप्ने अड्डा बनेका छन् । सङ्घीय सरकार मातहतका सडक डिभिजन र नयाँ सहर कार्यालयमा पर्याप्त जनशक्ति र दक्ष प्राविधिक भए पनि प्रदेश सरकारले सेवामा खटाउन सक्दैन । प्रदेश सरकारले लोकसेवाबाट पनि जनशक्ति भर्ना गर्न सकेको छैन ।

प्रदेश मातहतका पूर्वाधार विकास कार्यालय र भवन कार्यालयमा योजनाको चाप भए पनि पर्याप्त जनशक्ति नहुँदा तीन जिल्लाका चारवटा कार्यालयबाट एउटै व्यक्तिले सेवा दिनुपर्ने बाध्यता रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

बुधबार २९ चैत २०७९ ०८:४९ AM मा प्रकाशित

प्रतिक्रिया