×

दिमागमा २५ एमएल रगत जमेका बिरामीको विराटनगरमा सफल शल्यक्रिया

images

विराटनगर : दिमागमा २५ एमएल ९मिली लिटर० रगत जमेका एक जना भारतीय बिरामीको विराटनगरस्थित गोल्डेन अस्पतालमा सफल शल्यक्रिया भएको छ। 
‘ब्रेन ह्याम्रेज’का कारण टाउकाको पछाडि रहने सानो दिमागमा २५ एमएल रगत जमेका भारत अररियाका ६२ वर्षीय हरिलाल साहको शल्यक्रिया र उपचार सफल भएको हो। 

उपचार सफल भएपछि उनलाई शुक्रबार अस्पतालले डिस्चार्ज दिएको छ। साहलाई परिवारका सदस्यले शनिबार भारतस्थित घर लैजाने तयारी गरेका छन्। ]


अस्पतालका न्युरो सर्जन डा। रोशन खतिवडा र डा। चन्द्रप्रकाश यादवको टिमले साहको टाउकाको शल्यक्रिया गरेको हो। चिकित्सकका अनुसार ‘ब्रेन ह्याम्रेज’ भएर सानो दिमागमा यति धेरै रगत जम्नु निक्कै घातक मानिन्छ। यस्तो अवस्थामा बिरामीलाई बचाउन गाह्रो पर्ने डा। खतिवडाले बताए। ‘७ एमएलसम्म रगत जम्दा दिमागले काम गर्न छाडिसकेको हुन्छ,’ उनले भने, ‘तर २५ एमएल रगत जमेका बिरामीलाई शल्यक्रिया गरेर बचाउन सकियो।’ 

अस्पतालका प्रबन्धक सन्तोष मेहताका अनुसार गम्भीर अवस्थामा भर्ना भएका बिरामीलाई जटिल प्रकारको शल्यक्रिया गरेर बचाइएको छ। ‘परिवारले माया मारिसकेको अवस्थामा शल्यक्रिया गरिएको थियो,’ उनले भने, ‘उपचार सफल हुँदा बिरामीले नयाँ जीवन पाएका छन्।’ 

मेहताका अनुसार ‘ब्रेन ह्याम्रेज’ भएर बेहोस बनेका साहलाई गम्भीर अवस्थामा उपचारका लागि गत माघ ११ गते अस्पताल भर्ना गरिएको थियो। ‘बिरामीलाई आफन्तले अस्पताल भर्ना गरे। अवस्था एकदमै चिन्ताजनक थियो,’ उनले भने, ‘निको हुँदैन भनेर अचेत अवस्थौ घर फर्काउने तयारी हुँदै थियो। अस्पतालकै आग्रहमा उपचार सुरु गरेपछि बिरामीले नयाँ जीवन पाउन सके।’ मेहताका अनुसार उपचार सफल भएपछि आफन्त र परिवारका सदस्य निक्कै खुसी भएका छन्। 

‘बुवा अचानक बेहोस भएपछि उपचारका लागि लिएर आएका थियौँ,’ हरिलालकी छोरी रेखा साहले भनिन्, ‘निको हुने आशा मारिसकेको अवस्थामा चिकित्सकले बचाइदिए।’ हर्षित मुद्रामा देखिएकी रेखाले बुवाको जीवन बचाइदिएको भन्दै उपचारमा संलग्न चिकित्सक र अस्पताललाई धन्यवाद दिएकी छन्। उनका अनुसार हरिलाल अहिले मज्जाले हिँडडुल गर्न र बोल्न सक्छन्। 

१७ दिनको अस्पताल बसाइपछि बुवालाई लिएर घर फर्किने तयारी गरिएको रेखाले बताइन्। भनिन्, ‘बुवालाई बचाएर अस्पतालले ठूलो गुन लगाएको छ। उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।’ अस्पतालका अनुसार उपचारपछि बिरामीको अवस्था सामान्य बनिसकेको छ। 

प्रबन्धक मेहताले गोल्डेनमा लामो समयदेखि जटिल प्रकारका शल्यक्रिया र उपचार हुँदै आइरहेको बताए। ‘अवस्था अन्तिम बनेपछि उपचारका लागि भर्ना गरिएका धेरै बिरामीलाई बचाइएको छ,’ उनले भने, ‘अस्पतालको सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउने छौँ।’ 

शनिबार २९ माघ २०७८ ०३:२९ PM मा प्रकाशित

प्रतिक्रिया