काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० जना हाइप्रोफाईललाई धम्की दिने युवक प्रकाश पाठकविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको छ ।
आफूलाई उग्रबादी संगठनको अध्यक्ष बताउने पाठकले भिडियो पोस्ट गरेर १० जना हाइप्रोफाइललाई ‘सफाया’ गर्ने धम्की दिएका थिए । उनले राईसहित लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिएका थिए ।
विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गरिन्छ । डिफ्युजन नोटिस जारी गरेपछि आरोपीको लोकेसन पत्ता लगाउन इन्टरपोलमा आबद्ध प्रहरी सङ्गठनले सहकार्य गर्छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले आफूसँग भारतीय राहदानी रहेको बताउने पाठक अहिले भारतमै लुकेर बसेको देखाएको छ ।
पाठकविरुद्ध विगतमा दिनेश अधिकारी ‘चरी” सँग मिलेर गुण्डागर्दी गरेकोदेखि सरोज थापा (रोज राणा) लाई खुकुरी प्रहार गरेकोसम्मको आरोप छ । सरोज हाल लुम्बिनी प्रदेश सरकारको शहरी विकास तथा खानेपानी मन्त्री छन् । यसै सन्दर्भमा प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा धादिङका शरणजंग शाही, बर्दियाका धीरेन्द्र सुनार र सर्लाहीका तोरण थापा छन् । तीनैजनालाई काठमाडौं परिसरको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
उच्च पदस्थालाई ज्यानमार्ने धम्की दिने आपराधिक पृष्ठभूमि भएका पाठकले इमेलमार्फत अख्तियारका प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की दुईपटक दिएको खुलेको छ ।
प्रतिक्रिया