काठमाडौं । नेपालको मुनाल स्याटेलाइट प्रक्षेपणमा भारतले सहयोग गर्ने भएको छ । स्वदेशी उपग्रह नेपाली अन्तरिक्ष स्टार्टअपद्वारा विकास गरिएको हो । मुनाल स्याटेलाइट प्रक्षेपण गर्न अनुदान सहयोगका निम्ति भारतीय विदेश मन्त्रालय र न्युस्पेस इन्डिया लिमिटेडका अधिकारीबीच शनिबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा भारत सरकारको तर्फबाट अनुराग श्रीवास्तव र एनएसआईएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सचिव डा रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका कार्यवाहक डा. सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन)का संस्थापक डा आभास मास्केको समेत उपस्थिति रहेको थियो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले सम्झौताबारे जानकारी दिँदै दुई देशबिचको अन्तरिक्ष सहयोगमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताए। सम्झौता अनुसार नास्टको आयोजनामा नेपालमा विकसित गरिएको भूउपग्रहलाई एनएसआईएलको पोलार स्याटेलाइट लन्च भेहिकलमा नि:शुल्क रूपमा प्रक्षेपण गरिने भएको छ ।
प्रतिक्रिया