महेन्द्रनगर (धनुषा), २९ वैशाख : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा रहेको बताउनुभएको छ । जनकपुरधाममा नेपाली कांग्रेस धनुषाद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने कुरामा जोड दिएको बताउनुभयो ।
“सरकारले समिति बनाउन साथ दिनुको सट्टा विवादलाई बढाउने काम गरिरहेको छ”, नेता निधिले भन्नुभयो । कुनै पनि समस्या समाधान गर्न दृढ इच्छा शक्ति हुन आवश्यक रहेकोे उहाँको भनाइ थियो ।
नेता निधिले समग्र निर्वाचन प्रणालीमा सुधार गरेर अगाडी बढ्न तथा प्रदेशलाई बलियो बनाउनका लागि प्रहरी तथा कर्मचारी समायोजनमा ढिलाइ गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्रमोहन यादव, मिनाक्षी झा, मधेश प्रदेशसभा सदस्य रामसरोज यादव, पार्टीका जिल्ला सभापति योगेन्द्र पञ्जियार, कांग्रेस धनुषाका उपसभापति गणेश झालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया