×

प्रचण्डको सचिवालयले भन्यो– ओलीले गैरजिम्मेवार जवाफ फर्काए

images

काठमाडौं।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बेलुका फोन सम्वाद भएको प्रचण्डको सचिवालयले पनि जानकारी गराएको छ। फोनसम्वादमा ओलीले गैरजिम्मेवार जवाफ फर्काएको प्रचण्डको सचिवालयले बताएको छ।

यसअघि एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले दुई अध्यक्षबीच फोन सम्वाद भएको  र त्यसमा एमालेका तर्फबाट अध्यक्ष ओलीले प्रष्ट धारणा राखेको बताएका थिए। दुई अध्यक्षबीच अमेरिकी आर्थिक सहयोग परियोजना, एमसीसीबारे कुरा भएको थियो। 

त्यसक्रममा प्रचण्डले एमसीसी सामान्य आर्थिक सहयोगको परियोजना मात्र नभएर राष्ट्रिय राजनीतिको मुद्दा बनिसकेको बताएका थिए। 

'यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं। यसमा तपाईं र  तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं', ओलीसँगको सम्वादमा प्रचण्डको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव रमेश मल्लले भनेका छन्, 'देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं।'

तर, ओलीले त्यसलाई गम्भीरतापूर्वक नलिएको मल्लले बताएका छन्। 'उहाँले बरु तपाईंहरूसँग बहुमत छ, पास गर्नुस्। तर, गैरसांसद रहदासम्म संसद् चल्न भने दिन्नौं भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो', मल्लले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख रिजालले भने ओलीले एमसीसीबारे सत्ता गठबन्धनलले नै निर्णय गर्नुपर्ने भनेको उल्लेख गरेका थिए। 

‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ,’ ओलीको भनाइ उद्धृत गर्दै रिजालले  भनेका छन्, ‘हटाइसकेपछि ४–५ महिनामा पारित गर्छौं भनेर लिखित कागज नै गर्नुभएको रहेछ। अहिले सत्ता चलाइरहनुभएको छ। प्रतिनिधि सभामा १ सय ६५ सदस्य छन्। पहिले आफूले निर्णय गर्नुस् नेकपा (एमाले) त निर्णय गरिहाल्छ।’

 

शुक्रबार​ २८ माघ २०७८ ०२:४१ PM मा प्रकाशित

प्रतिक्रिया