×

फागुन २१ गतेको निर्वाचनबाट नयाँ संसद आउने कुरामा कांग्रेस प्रष्ट छ- गगन थापा

images

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनबाट नयाँ संसद आउने कुरामा कांग्रेस प्रष्ट रहेको बताएका छन् ।

प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने नेकपा एमालेको मागमा काँग्रेस पनि सामेल भएको भन्ने आशयका समाचार प्रकाशित भएपछि महामन्त्री थापाले यस बारेमा प्रष्ट पारेका हुन् । उनले फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउने र संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो भएको भन्दै यसमा कुनै अलमल नरहेको प्रष्ट पारेका छन् ।

महामन्त्री थापाले काँग्रेसमा देखिएको अहिलेको अलमल महाधिवेशनको विषयमा मात्र भएको बताउदै कांग्रेसले प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको स्पष्ट रूपमा प्रस्तुत गरेको र कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय भएको बताएका छन् ।

उनले भनेका छन्: 

फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन । नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा होइन। यस सन्दर्भमा हामी स्पष्ट छौँ ।

निर्वाचनअघि अधिवेशन गर्नु पर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो । अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौँ ।

सोमबार २५ कात्तिक २०८२ १०:१७ AM मा प्रकाशित

प्रतिक्रिया